देश

सभामुख सापकोटाविरुद्धको रिट संवैधानिक इजलासमा सुनुवाइ हुँदै

नवलपुर टुडे
२०७८ अशोज १३ | बिहान ११:०६ बजे

काठमाडौं । सभामुख अग्नि सापकोटाविरुद्धको रिट संवैधानिक इजलासमा सुनुवाइ हुँदै छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा न्यायाधीश रहेका छन् । गत १६ भदौमा पेशीमा चढेको यो मुद्दा हेर्न नभ्याइनेमा राखिएको थियो । त्यसभन्दा अगाडि ३० फागुन २०७६ मा यो मुद्दा पेशीमा चढाइएको थियो । त्यतिबेला पनि हेर्न नभ्याएपछि सुनुवाइ सरेको थियो ।

सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा सभामुख सापकोटा पनि संलग्न रहेको आरोप छ । १६ वैशाख २०६२ मा श्रीकृष्ण मावि, दाप्चामा अभिभावक भेला स्थलबाट लामा अपहरणमा परेका थिए । साउनको तेस्रो साता खाल्डो खन्न लगाएर लामालाई जिउँदै पुरेको भन्दै उनकी पत्नी पूर्णिमायाले २०६४ सालमा जाहेरी दिएकी थिइन् ।

प्रहरीले जाहेरी लिन नमानेपछि पूर्णिमायाले सर्वोच्चमा उजुरी गरेकी थिइन् । २२ फागुन २०६४ मा सर्वोच्चले आदेश दियो र जाहेरी दर्ता भयो । तर बाबुराम भट्टराई नेतृत्वको सरकारले सापकोटाविरुद्धको जाहरी तामेलीमा राख्ने निर्णय गरेको थियो । त्यसविरुद्ध पूर्णिमाया फेरि सर्वोच्च गइन् र सर्वोच्चले निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश दियो ।

यो मुद्दा सर्वोच्चको संवैधानिक इजलासमा विचाराधीन रहेको छ । मुद्दा विचाराधीन रहेकै बेला सापकोटा सञ्चारमन्त्री बनेपछि कनकमणि दीक्षित लगायतले सर्वोच्चमा अदालतको अवहेलना मुद्दा समेत हालेका थिए ।

कमेन्टहरु