भूतपूर्व गोर्खा सैनिक तथा राष्ट्रियसभाका पूर्व सांसद इन्द्रहाङ नेम्वाङ लिम्बूको निधन


धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मुख्य प्रवेशद्धार अगाडी घर भई धरानको विकास निर्माणमा योगदान दिएका भूतपूर्व गोर्खा सैनिक तथा राष्ट्रियसभाका पूर्व सांसद समेत रहेका इन्द्रहाङ नेम्वाङ लिम्बूको कार्तिक २७ गते निधन भएको छ ।
केहि वर्ष अघिदेखि प्यारालाइसिसको समस्याबाट पीडित ९२ वर्षीय इन्द्रहाङलाई कोरोना सङ्क्रमण भएको थियो । होम आइसोलेसनमै रहेका बेला उनको निधन भएको हो । कार्तिक २३ गते इन्द्रहाङको स्वास्थ्यमा थप समस्या देखिएपछि उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचारका लागि लगिएको थियो ।
उनको कार्तिक २४ गते पोजेटिभ रिपोर्ट आएको थियो । लिम्बुको शव नेपाली सेनाको समन्वयमा धरान उपमहानगरपालिकाले शव व्यवस्थापन गरेको छ ।
गोर्खा सैनिकबाट अवकास लिएपछि धरानमा इन्द्रहाङ लिम्बूले आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा आफूलाई समर्पित गरेका थिए । उनले व्यवसायिक रुपमा आर्थिक उपार्जनका लागि प्रतिष्ठानको मुख्य प्रवेशद्धार अघि व्यवसायिक भवन निर्माण गरेका थिए भने धनकुटाको भेडेटारमा समेत घर निर्माण गरेका थिए ।
आफ्नो परिवारलाई राम्रो व्यवस्थापन गरेका इन्द्रहाङ २०४८ सालमा तत्कालिन नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा राष्ट्रियसभाको सदस्यमा नियुक्त भएका थिए । शुरुमा कांग्रेस पार्टीमा आबद्ध उनी कांग्रेस छोडेर गोरेबहादुर खपाङ्गीको नेतृत्वमा रहेको जनमुक्ति पार्टीमा प्रवेश गरेका थिए ।
त्यसपछि उनी जनमुक्ति छाडेर काठमाण्डौंमा सम्पन्न नेकपा (माओवादी) को पाँचौ विस्तारित बैठकले किरात गणराज्यअन्तर्गत रहेको लिम्बुवान–खम्बुवानलाई छुट्टै स्वायत्त प्रदेशको मान्यता दिने निर्णय गरेपछि उनी माओवादीमा प्रवेश गरेका थिए । पछिल्लो समय उनी लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय सल्लाहकार पनि थिए ।
पुर्खौली घर पाँचथर भएका इन्द्रहाङले विद्यालय तथा समाजका लागि जग्गा दान गर्नुका साथै अक्ष्य कोषको समेत स्थापना गरिदिएका थिए । धरानमा उनी आर्थिक क्षेत्रमा सम्पन्न व्यक्तिका रुपमा परिचित थिए भने त्यतिकै मात्रामा समाजसेवीका रुपमा पनि चिनिन्थे ।
उनले आफ्नो जीवनलाई सादा ढंगले परिचालन गरेका थिए भने राजनीतिक परिवर्तनका लागि समेत महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।























