परराष्ट्रमन्त्री खड्काको शपथ बदरको माग गर्दै सर्वोच्चमा रिट


काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काको शपथ बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ ।मंगलबार अधिवक्ता विशाल न्यौपानले शपथसम्बन्धी संघीय कानुन नै नभएको अवस्थामा राष्ट्रपति विद्यादेवी भण्डारीले असोज ६ गते परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई पद तथा गोपनीयताको शपथ खुवाएको भन्दै सर्वोच्चमा रिट हालेका हुन् ।
न्यौपानेले संविधानबमोजिम कानुन नबनाई शपथ नलिएसम्म खड्कालाई परराष्ट्रमन्त्रीको हैसियतमा नगर्न–नगराउन अन्तरिम आदेश जारीको माग गरेको छ । नेपालको संविधानको धारा ८० बमोजिम संघीय कानुन नबनाई कसैलाई पनि मन्त्रीको हैसियतमा शपथ ग्रहण नगर्न नगराउन भनी सर्वोच्चबाट अन्तरिक आदेश जारी हुनुपर्ने रिट निवेदनमा उल्लेख छ ।
यस्तै एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको शपथसम्बन्धी अध्यादेश निष्क्रिय भएको अवस्थामा कानुनको अभावमा शपथ ग्रहण गर्नु कानुनी राज्यको प्रतिकूल हुने रिटमा उल्लेख छ ।उक्त रिटको पेशी बुधबारका लागि तोकिएको अधिवक्ता न्यौपानेले जानकारी दिए ।
असोजको ६ गते राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष खड्काले पद तथा गोपनीयताको शपथ लिएका थिए ।






















