लुम्बिनी प्रदेश

बुटवलका समस्या समाधान गर्न मुख्यमन्त्रीसमक्ष कांग्रेसले बुझायो ७ बुदे मागपत्र

नवलपुर टुडे
२०७८ अशोज १२ | मध्यान्ह ०४:०६ बजे

बुटवल । बुटवल उपमहानगरपालिकाको नवनिर्वाचित नेपाली कांग्रेसको कार्यसमितिले लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई बुटवलका समस्या समाधान गर्न मागपत्र बुझाएको छ ।

मंगलबार नेपाली काँग्रेस बुटवल उपमहानगर सभापति खेलराज पाण्डेको नेतृत्वमा गएको टोलीले बुटवलमा रहेको समस्या समाधान गर्न मुख्यमन्त्री कुलप्रसाद केसीलाई सात बुँदे मागपत्र बुझाएको हो ।काँग्रेसले गत भदौ १३ गतेको पहिरोले बुटवल–३, ज्योतिनगरका दर्जनौं घर परिवार विस्थापित भएको स्मरण गराउँदै त्यहाँका पीडितलाई राहत प्रदान गर्न र दीर्घकालीन रुपमा समाधन गर्न माग गरेको छ ।

यसैगरी भदौ ११ गतेको वर्षाले बुटवल–११, वुद्धनगरका आधा दर्जनभन्दा बढी घर–परिवार विस्थापित भएको भन्दै काँग्रेसले तिनको सवालमा पनि ध्यान दिन मुख्यमन्त्रीसमक्ष माग गरेको छ ।बुटवलको राजमार्ग चौराहदेखि गोलपार्कसम्मको ६ लेन सडक विस्तार, कालिका पथ सडक विस्तार तथा बेलबास–बेथरी सडक विस्तारलाई समेत तीव्रता दिन माग गरिएको छ ।

बुटवलका सडक हिउँदमा धुलैधुलो र वर्षायाममा हिलाम्य हुँदा हुँदा यात्रु तथा शहरवासीको स्वास्थ्यमा असर गर्नुका साथै दुर्घटनाको जोखिम भएको भन्दै काँग्रेसले मुख्यमन्त्रीको ध्यानाकर्षण गराएको छ । सो अवसरमा मुख्यमन्त्री केसीले तत्काल राहत तथा पुनःस्थापनका लागि जिल्ला प्रशासन कार्यालयलाई तथ्याङ्क संकलनका लागि निर्देशन गरिएको बताए ।

लुम्बिनी प्रदेश सरकारले बुटवलको ज्योतिनगरको पहिरो तथा तिनाउ नदी कटान पीडितहरुका लागि उद्धार, राहत तथापुनःस्थापनाबारे ३ चरणका कार्य योजना बनाउने तयारी भएको मुख्यमन्त्री केसीले बताएका छन् ।

photo 2021 09 28 03 26 54photo 2021 09 28 03 26 47

कमेन्टहरु