भ्रष्टाचार

पर्साका कालिकामाई गाउँपालिकामा अख्तियारद्वारा छापा

नवलपुर टुडे
२०७८ अशोज १२ | मध्यान्ह ०२:०६ बजे

बीरगन्ज १२ असोज । पर्साको कालिकामाई गाउँपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान अयोग हेटौंडाको टोलीले छापा मारेको छ । गाउँपालिकाका कर्मचारी तथा जनप्रतिनिधिहरु चरम भ्रष्टाचारमा लिप्त रहेको समाचारहरु पत्रपत्रिकामा प्रकाशित भएपछि तथा गाउँपालिकामा व्यापक भ्रष्टाचार भइरहेको उजुरी परेपछि अख्तियारको टोली छानविन गर्न गाउँपालिका कार्यालयमै पुगेको हो । गाउँपालिकाको कार्यालयमा ९ गते पुगेको अख्तियारको टोली ११ गते फर्किएको छ ।

टोलीले शंकास्पद योजना तथा कार्यक्रमहरुको कागजात आफ्नो नियन्त्रणमा लिएको छ । त्यसैगरी गाउँपालिकाको बिभिन्न वडामा संचालन भएको योजनाहरुको स्थलगत अवलोकन तथा अनुगमन समेत टोलीले गरेको थियो । टोलीले कार्यालयका कर्मचारीहरुसँग सोधपुछ गर्नुको साथै तीन दिनको अवधीमा कार्यालयबाट संचालन भएको योजनाहरुको फाइलहरुको समेतअध्यन गरेको बताइएको छ । सो क्रममा अख्तियारको टोलीले गाउँपालिका कार्यालयको कर्मचारी तथा जनप्रतिनिधिहरुको मिलोमतोमा बिभिन्न योजनाहरुमा चरम भ्रष्टाचार भएको प्रमाणहरु फेला पारेको स्रोतको दाबी छ ।

अख्तिया दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाका उप–सचिव एवम् सूचना अधिकारी विष्णु प्रसाद सापकोटाले कालिकामाई गाउँपालिले संचालन गरेको विकासे योजना, कर्मचारी भर्ना, सम्मान कार्याक्रम, धारा जडान कार्यक्रम, आइसुलेशन, नदी सफाई तथा सडक ढलान आदीको बिषयमा धेरै उजुरी परेको तथा आवश्यक कागजातहरु माग गर्दा गाउँपालिकाले समयमा नपठाई दिएको एवम् ताकेता गर्दा समेत सम्पर्कमा नआएपछि विज्ञ सहितको टोली छानविनको लागि गाउँपालिकाको कार्यालयमै पुगेको वताउनु भयो । उनले केही योजनाहरुको कागजात टोलीले कार्यालयबाट संकलन गरेको वताउँदै उजुरीहरु उपर अनुसन्धान भइरहेको बताउनुभयो ।

दोषी देखिएको खण्डमा भ्रष्टचारमा संलग्न कर्मचारी तथा जनप्रतिनिधिहरु उपर कानुनी कार्बाही गरिने सूचना अधिकारी सापकोटाले वताउँनुभयो । उनले अख्तियारको टोली गाउँपालिकामा कसैलाई तर्साउनको लागि नगएको वताउँदै उजुरी उपर छानविनकै लागि टोली पुगेको वताउँनुभयो ।

यता गाउँपालिकाको कार्यालयमा अख्तियारको टोली पुगेपछि कर्मचारी तथा जनप्रतिनिधिहरु बिच खैलाबैला मच्चिएको छ । स्रोतका अनुसार गाउँपालिकामा भ्रष्टाचारीहरु बिच भागभाग मच्चिएको छ । अनुसन्धानको क्रममा केही कर्मचारी, ठेकेदार तथा जनप्रतिनिधिहरु अख्तियारको फन्दामा जाने निश्चित रहेको स्रोतको दावी छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयचन्द्र साहसँग यस बिषयमा प्रतिक्रिया लिन खोज्दा टोली केका लागि आएको आफुले बुझ्न नसकेको प्रतिक्रिया दिनु भयो । टोली कहिले आएको समेत आफुलाई थाह नभएको वताउँदै साहले टोली हिजो फर्किएको बताउनुभयो ।

कमेन्टहरु