राजनीति

कांग्रेस महाधिबेशन : बाग्लुङमा पौडेल समुह बिजय

नवलपुर टुडे
२०७८ अशोज १२ | बिहान ११:०६ बजे

बागलुङ । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गतको गाउँ र नगरपालिकास्तरीय अधिवेशन गत शनिबारदेखि सुरु भएको छ । जिल्लाका दश पालिकामध्ये नाैवटामा नयाँ नेतृत्व चयन भइसकेको छ भने बरेङ गाउँपालिकामा केही समयका लागि स्थगित भएको छ ।

आइतबार बाग्लुङ नगरपालिका र जैमिनी नगरपालिकामा भएको निर्वाचनबाट बाग्लुङमा उमाकान्त शर्मा ‘बाबु’ र जैमिनीमा प्रेम सापकोटा निर्वाचित भए । शर्माले अर्को उम्मेदवार कर्णबहादुर हमाललाई ६२ मतले पछि पार्दै निर्वाचित भए भने सापकोटाले अर्को उम्मेदवार काशीराम आचार्यलाई ३० मतको अन्तरले पछि पार्दै निर्वाचित भएका थिए ।

त्यसैगरी जिल्लाको बडिगाड गाउँपालिकामा पनि आइतबार नै कृष्ण गुरुङ सर्वसम्मत सभापतिमा चयन भए । यसअघि जिल्लाको ताराखोला, काठेखोला, निसीखोला र तमानखोलामा सर्वसम्मत भएको थियो ।
जिल्लाको पश्चिम ढोरपाटन नगरपालिकामा निर्वाचन प्रक्रियाबाट नै धनबहादुर कायत ‘कल्याण’ सभापति भएका थिए । उनी दीपककुमार अदैसँग निर्वाचनमा होमिएका थिए ।

आइतबार साँझसम्म जिल्लाको आठवटा स्थानीय तहमा नयाँ नेतृत्व टुंगिएको थियो भने गलकोट नगरपालिकामा सोमबार मात्रै टुंगिएको छ ।

गलकोट नगरपालिकामा वीरजंग भण्डारी

लामो समयको प्रयासपछि युवा नेता वीरजंग भण्डारी सर्वसम्मत सभापतिमा चयन भएका छन । गलकोट नगरपालिका– ३ का वडाध्यक्षसमेत रहेका भण्डारी यसअघि नगर सचिव थिए । ३० वर्षीय भण्डारी जिल्लाकै कान्छा सभापति हुन् ।

गलकोट क्षेत्रको मुख्य बजार हटिया क्षेत्रमा आफ्नो कार्यक्षेत्र बनाएर राजनीति सुरु गरेका भण्डारी नेपाल विद्यार्थी संघको राजनीतिबाट कांग्रेसको राजनीतिमा होमिएका हुन् । उनी नेपाल विद्यार्थी संघको जिल्ला सदस्यसमेत हुन् ।

भण्डारी १३औँ महाधिवेशनमा तत्कालीन हटिया गाविसको सभापति भएर हाल नगरको सचिवको रूपमा थिए । नगर कार्यसमितिको उपसभापतिमा यसअघि नै सर्वसम्मत भएको थियो । जसमा यज्ञप्रसाद सापकोटा र चन्द्रबहादुर श्रीष सर्वसम्मत चयन भएका थिए ।

सभापति र उपसभापति सहसचिवको सर्वसम्मत भए पनि सचिवका लागि भने अझै सर्वसम्मत हुन सकेको छैन । सचिवका लागि लोकनाथ कँडेल, हेमराज गैरे चिरञ्जीवी मरासिनी योगेश भण्डारी र टीकाराम गौतमको उम्मेदवारी परेको थियो । दुई सचिवका लागि पाँचजनाको उम्मेदवारी परेको र यसलाई पनि सर्वसम्मतको प्रयास भएको छ ।

सहसचिवमा भने यसअघि नै विष्णु गैरे र नरेन्द्रबहादुर घर्ती सर्वसम्मत भएका हुन् । सचिवका लागि सहमति नटुंगिएसम्म निर्वाचन समितिले भने औपचारिक रूपमा कुनै पनि पदको घोषणा गरेका छैन । नगरकार्यसमितिमा अन्य सदस्यहरूको पनि शनिबार नै टुंगिएको हो ।

पौडेल पक्षको वर्चश्व

अहिलेसम्म बाग्लुङका नाैवटा पालिकामा कांग्रेसको नेतृत्व चयन भएको छ । तीमध्ये अधिकांशमा कांग्रेसको रामचन्द्र पौडेल पक्षको हाबी भएको छ । भण्डारीसमेत पौडेल पक्षका हुन् । कांग्रेसका जिल्लास्तरीय नेताका अनुसार सदरमुकामको बाग्लुङ नगरपालिकामा निर्वाचित उमाकान्त शर्मा, जैमिनीका प्रेम पौडेल र ढोरपाटनका कल्याण कायत पनि पौडेल पक्षकै हुन् ।

बडिगाड गाउँपालिका सभापति कृष्ण गुरुङ, ताराखोला गाउँपालिकाका सभापति कमलापति पाठक र निसीखोला गाउँपालिकाका सभापति सूर्यबहादुर घर्ती पनि पौडेल पक्षकै हुन् । काठेखोला गाउँपालिका सभापति भएका यामदत्त कँडेल पनि निर्वाचनअघि पौडेल पक्षका हुन् । संस्थापनको सहकार्यमा उनले सभापति हात पारे भने अब पुनः पुरानै समूहमा फर्कने आकलन गरेका छन् । तमानखोला गाउँपालिका सभापति भएका लालकुमार छन्त्याल भने कुन पक्षको भन्ने हालसम्म यकिन भएको छैन ।

निर्वाचनमार्फत स्थापित भएका सभापतिसहितका पदाधिकारी पनि पौडेल पक्षकै वर्चस्व छ । बाग्लुङ नगरमा एक उपसभापतिबाहेक सबै पौडेल पक्षका पदाधिकारी निर्वाचित भएका छन् ।

कमेन्टहरु