देश

सरकारले गोरखापत्र संस्थानको कार्यकारी अध्यक्ष पदमा बिष्णुप्रसाद सुवेदी

नवलपुर टुडे
२०७८ अशोज १२ | बिहान ०८:०६ बजे

काठमाडौं । सरकारले गोरखापत्र संस्थानको कार्यकारी अध्यक्ष पदमा गुल्मीका विष्णुप्रसाद सुवेदी नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सुवेदीलाई कार्यकारी अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो।

सुवेदी यस अगाडि अन्नपूर्ण पोस्ट् अनलाइन संस्करणका सम्पादक थिए। संस्थानमा यसअघिका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारीले दिएको राजीनामा गत साउन १९ गते मन्त्रिपरिषद्ले स्वीकृत गर्ने निर्णय गरेको थियो। त्यसपछि खाली रहेको रिक्त रहेको सो पदमा सुवेदीलाई नियुक्त गरिएको हो। वि.सं. २०५२ मा ‘हिमालय टाइम्स’ दैनिकबाट पत्रकारिताको व्यावसायिक यात्रा थालेका सुवेदीले संसद्, सुरक्षा, भ्रष्टाचारविरोधी तथा राष्ट्रिय राजनीतिका महत्वपूर्ण मुद्दामा निरन्तर कलम चलाउँदै आएका छन्।

आमसञ्चार तथा पत्रकारिता विषयमा एमफिल तहको अध्ययन गरेका सुवेदी मिडिया अध्यापन, शोध अध्ययनमा क्रियाशील छन्। व्यासायिक पत्रकारितामा दुई दशकभन्दा बढी क्रियाशिल रहेका सुवेदीले यसअघि विभिन्न सञ्चारमाध्यममा डिजिटल सम्पादक तथा अन्य नेतृत्वदायी भूमिका रहेर कार्य गरेका छन्।

पत्रकारिता क्षेत्रमा उनको व्यावसायिक योगदानको कदर गर्दै ट्रान्सपरेन्सी इन्टरनेशनल, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका संस्थाले उनलाई पुरस्कृत गरेको छ।

कमेन्टहरु