राजनीति

केपी गुट छोडेर माधब नेपाल गुटमा लागेका पुर्ब बनमन्त्री आले मन्त्री बन्दै

नवलपुर टुडे
२०७८ अशोज १२ | बिहान ०७:०६ बजे

काठमाडाैं । माधव नेपाल नेतृत्वको पार्टी नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी हुने ६ जना मन्त्रीको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ । पार्टीका अध्यक्ष माधवकुमार नेपालले एकीकृत समाजवादीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्गो लगाएर प्रधानमन्त्री देउवालाई बुझाएको हो ।

एकीकृत समाजवादीबाट मन्त्रीका लागि विरोध खतिवडा, मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आले, जीवनराम श्रेष्ठ र भवानी खापुङको नाम सिफारिश भएको छ। सरकार गठन भएको दुई महीना नाघिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन। एकीकृत समाजवादीकै लागि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको नेताहरूले बताउँदै आएका थिए।

स्रोतका अनुसार विरोध खतिवडाको नेतृत्वमा एकीकृत समाजवादी सरकारमा सहभागी हुने भएको छ। खतिवडाको नेतृत्वमा रामकुमारी झाँक्री, मेटमणि चौधरी, प्रेम आले, किसान श्रेष्ठ र जीवनराम श्रेष्ठ मन्त्री बन्ने पक्का भएको स्रोतको दाबी छ।

राजनीतिक दलसम्बन्धी अध्यादेश हिजाेनै फिर्ता लिइ कसिएकाे हुँदा आज साँझ सम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री देउवाको तयारी छ। असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले सत्तारुढ दलहरुबीच सहमति हुन नसक्दा मन्त्रिपरिषद् विस्तार गर्न सकेका थिएनन्।

सत्ता गठबन्धनमा राजनीतिक दलसम्बन्धी अध्यादेश निष्कृय बनाएसँगै देउवाले आज साँझ सम्ममा मन्त्रिपषिद् विस्तार गर्न लागेका हुन्। एकीकृत समाजवादीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संस्कृति पर्यटन तथा नागिरक उड्डयन मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पाउने भएको छ। समाजवादीले मागेका मन्त्रालय दिन प्रधानमन्त्री देउवा तयार भएका छन्।

एकीकृत समाजवादीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पाएको अवस्थामा उक्त मन्त्रालयको नेतृत्व खतिवडाले गर्ने भएका छन्। यस्तै एकीकृत समाजवादीले सरला यादवलाई उपसभामुख बनाउने विषयमा पनि छलफल भएको छ। मन्त्रीका लागि सिफारिसमा नपरेका केही सांसदलाई भने संसदीय समितिको सभापति बनाउनेबारेमा पार्टीमा छलफल भएको एक नेताले बताए।

पहिलो चरणमा मन्त्री हुन नपाएकाहरुलाई दोस्रो चरणमा मन्त्री बनाउने विषयमा पनि नेकपा एकीकृत समाजवादीमा छलफल भएको छ। नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी गत भदौ २५ गते नयाँ दलको रुपमा दर्ता भएको थियो।

कमेन्टहरु