देश

प्रदेश २ मा प्रहरी आफै तस्करीमा लागेपछि आईजीपीद्वारा अनुसन्धान टोली खटायो

नवलपुर टुडे
२०७८ अशोज ११ | मध्यान्ह ०७:०६ बजे

सुभाष यादव
सिराहा । प्रदेश २ का जिल्लाहरुमा प्रहरीकै मिलेमतोमा तस्करी गरेको भन्दै प्रहरी प्रधानकार्यालयले अनुगमन गर्न खटाएको छ । तस्करी बढेको भन्ने सूचनाका आधारमा प्रहरी प्रधान कार्यालयले अनुसन्धानका लागि दुईवटा टोली प्रदेश २ का जिल्लामा खटाएको हो ।

प्रहरी महानीरिक्षक शैलेश थापाले अनुगमनका लागि टोली खटाएको स्रोतको दावी छ । प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा कार्यरत एसएसपी भीम ढकाल र विशेष ब्युरोमा कार्यरत एसएसपी टेकबहादुर राईको छुट्टा छुट्टै टोलीलाई प्रदेश २ का जिल्लामा पठाइएको हो ।

‘दुईवटा टोलीलाई प्रदेश २ को यथार्थ स्थिती बुझ्नको लागि खटाइएको छ’ प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो । पर्साका वेलबहादुर पाण्डे, धनुषाका प्रकाश रानाभाट, सिरहाका हिराबहादुर पाण्डेको बारेमा धेरै गुनासो आएपछि प्रहरी प्रधानकार्यालयले अनुगमनका लागि खटाएको हो ।

त्यसैगरी सर्लाहीका सन्तोषसिंह राठौरको विषयमा पनि प्रहरी प्रधानकार्यालयमा उजुरी परेको छ । पर्साका बेलबहादुर पाण्डेले त सिसुकालाई रकम नै तोकर पैसा उठाएको उजुरी परेको थियो । सिराहका हिराबहादुर पाण्डेका घुमुवाले छाडेको तस्करीको गाडीलाई लाहान प्रहरीले पक्राउ परेपछि उनको बारेमा पनि उजुरी परेको थियो ।

टोलीले आइतवारदेखि नै काम शुरु गरेको छ । एउटा टोलीले बारा र पर्सा, सिरहा तथा अर्को टोलीले धनुषाबाट सुक्ष्म अनुसन्धान थालेको छ । प्रदेश २ मा प्रहरीकै संलग्नतामा तस्करी बढेको सम्बन्धमा टोलीले अध्ययन गरेर ल्याउने प्रतिवेदनको आधारमा नयाँ रणनीति बनाउने प्रधान कार्यालयको तयारी छ । उनीहरुको बारेमा प्रहरी अनुसन्धान सकिएपछि कारवाही थाल्ने प्रहरी प्रधानकार्यालय स्रोतले जनाएको छ ।

कमेन्टहरु