देश

“मष्टो मान्यता भनेको के हो ?”

नवलपुर टुडे
२०७७ कार्तिक २७ | बिहान १०:०७ बजे

-चन्द्रप्रकाश बाँनिया
मष्टो मान्यतामा स्वर्ग, नर्क छैन । पुनर्जन्म पनि छैन । पुनर्जन्म नहुनु भन्नुको मतलब आत्माको अलग अस्तित्वको मान्यता छैन । अर्थात शरीर र आत्मा फरक हो । शरीर नाशवान छ, आत्मा अजर अमर छ भन्ने हिन्दू मान्यतसंग सहमत छैन ।

इस्लाम, जुदोइज्म, कृश्चियन, हिन्दू र बुद्धिज्मले जस्तो मानिस मरेपछी स्वर्ग वा नर्क जान्छ भन्ने कुरा मष्टो मान्यताले मान्दैन । मान्छे मरेपछी जाने अर्को ठाउँ पनि हुदैन । मरेको मान्छेमा अन्त जाने तत्व बाँकी रहंदैन ।

हिन्दूधर्मले भनेजस्तो आत्मा अजर अमर छ र शरीर नास भए पनि आत्माले स्वर्ग, नर्क वा ब्रह्म सायुज्य अथवा मुक्ति प्राप्त गर्छ भन्ने कुरासंग पनि सहमत हुदैन । बुद्ध धर्मले जस्तो निर्वाण प्राप्त गर्नु जीवनको मुख्य उद्देश्य हो भन्ने कुरासंग विमती राख्दछ ।

सृष्टि भगवानले गरेको हो भन्ने कुराको पैरवी पनि गर्दैन ।

मष्टोलाई मुख्य देवता माने पनि सृष्टि उत्पत्तिको कारण मष्टोलाई मान्दैन । मष्टोलाई मानिसको रक्षक मान्दछ । मष्टोले मानिसको हित कल्याण मात्रै गर्छ । त्यो पनि जिवित रहंदासम्म हो । मरेपछी मानिसको जीवनमा कुनै देवताको कुनै भूमिका बाँकी रहंदैन ।

मष्टो निराकार अर्थात कुनै रुप आकृतिनाको देवता हो। त्यसैले माडौंमा कुनै मूर्ती राखिदैन ।

मष्टो देवता रुप आकृतिविनाको हुने हुनाले अदृश्य रहन्छ । अर्थात मष्टो लाई देख्न सकिँदैन । मष्टो कुनै ठाउँ विशेषमा मात्र सिमित हुदैन । त्यो सर्वव्यापी छ । त्यसैले मष्टलाई घरभित्र, घर बाहिर, जङ्गल वा मन्दिर जहाँ पुजा गरे पनि हुन्छ । जतिवटा मन्दिर बनाए पनि हुन्छ । नबनाए पनि हुन्छ । जे नाम दिए पनि हुन्छ । मष्टो मात्रै भनेर पुजे पनि हुन्छ ।

मष्टो देवता एउटै हो । तर मानिसले त्यसलाई जुन रुपमा पनि पूजा गर्न सक्छ । उसलाई जे जे नाम दिए पनि हुन्छ । अर्थात मष्ट्को नाम जङ्गल, पहाड, नदी वा अन्य जे नाम दिएपनी हुन्छ । विष्णुका हजार नाम भनेजस्तै मष्टोलाई जति नाम दिए पनि हुन्छ ।

मष्टोको धेरै नाम देखिनुको अर्थ जति नाम उति मष्टो भनेको होइन । न त मष्टो यति वा उति भाइ थिए भन्ने कुरा सत्य हो ।

वास्तविक कुरा के हो भने मानिसले देवतालाई चढाउने कुरा आफूसंग जे छ त्यही हो । आफूसंग नभएको वा आफूले नखाने वा जुटाउन नसकिने वस्तु देवतालाई चढाउनु पर्दैन, आफूले जे खाइन्छ, आफूसंग जे छ त्यही चढाउने हो ।

त्यसैले साकाहारीहरुले दूध चढाउँछन र दुधे मष्टो भन्छन । मांसाहार गर्नेले पाठो चढाउँछन र दारे मष्टो भन्छन । अर्थात मष्टो भिन्न रुप मानेर पुज्छन । भूमी रक्षणका निमित्त क्षत्रपाल रुपको मष्टो पूजा गरिन्छ ।

नाम अनेक छन तर मष्टो एउटै हुन । मानिसले आफ्नो रुचि अनुसार जुन नामको मष्टो पनि पुज्न सक्छन ।

मष्टोको धामी भनेको पुजारी वा पुरेत हो । मष्टो कसैको आङमा चढ्दैन । किनकी उसको आफ्नो रुप आकृति हुदैन । उसले मानिसबाट कुनै अपेक्षा राख्दैन । खाने कुरा माग्दैन । आशा गर्दैन । किनकी उसको शरीर नभएको हुनाले उसलाई खाने प्युने जरुरतै पर्दैन । जरुरत नपर्ने कुराको आशा गर्ने प्रश्नै उठ्दैन ।

मष्टोको पुजा गर्नु, बलि चढाउनुको उद्देश्य देवतालाई रिझाउनु वा खुसी पार्ने हो । तर देवताले मान्छेसंग केही माग्दैन । देवता मान्छेसंग मागेर खाने हैसियतमा हुदैन । त्यसैले धामीलाई देवता मान्ने कुरा गलत हो । धामी भनेको पुजारी हो ।

कमेन्टहरु