देश

विश्वभर कोरोना भाइरसबाट एकैदिन १० हजारको मृत्यु

जगत ठाडा मगर
२०७७ कार्तिक २७ | बिहान ०९:०७ बजे

चीनको बुहानबाट शुरु भएको कोरोना भाइरसको संक्रमण मत्थर हुने कुनै संकेत छैन । विश्वभर कोरोनाको मृत्युमा नयाँ रेकर्ड कायम भएको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ७ संक्रमितको मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ । विश्वभर एकैदिन कोरोनाले मृत्यु भएकाको यो संख्या अहिलेसम्मकै उच्च हो ।

एकै दिन १० हजार बढीको मृत्यु हुँदा कोरोनाले ज्यान गुमाउनेको संख्या १२ लाख ८८ हजार ७२२ पुगेको छ ।

दोस्रो लहरको संक्रमण उच्च भएको युरोपमा मात्रै पछिल्लो २४ घण्टामा ४ हजार ७२८ जनाको मृत्यु भएको छ ।

युरोपेली मुलुकमा कोरोनाले सबैभन्दा धेरै बेलायतमा ५० हजारभन्दा बढीको मृत्यु भएको छ ।

युरोपमा कोरोनाबाट ५० हजारभन्दा बढीको मृत्यु हुने बेलायत पहिलो देश हो भने विश्वमा पाचौँ हो । हालसम्म अमेरिका, ब्राजिल, भारत र मेक्सिकोमा ५० हजारभन्दा बढीको मृत्यु भइसकेको छ।

यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ६ लाख ३ हजार १३१ संक्रमित थपिएका छन् । योसँगै विश्वभर संक्रमितको संख्या ५ करोड २४ लाख ११ हजार ४५२ पुगेको छ ।

कमेन्टहरु