शिक्षा

परीक्षा केन्द्र जुम्ला मै हुनुपर्ने माग राख्दै जुम्ला क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी

नवलपुर टुडे
२०७८ अशोज १० | मध्यान्ह ०५:०६ बजे

जुम्ला । जुम्ला बहुमुखी क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ । असोज ११ गतेदेखि सञ्चालन हुने एमएड दोस्रो वर्षको परीक्षा केन्द्र जुम्लामै हुनुपर्ने माग राख्दै चार विद्यार्थी संगठनले अनिश्चितकालका लागि तालाबन्दी गरेका हुन्।

क्याम्पस प्रशासनको कमजोरीका कारण परीक्षा केन्द्र सुर्खेतमा तोकिएको भन्दै उनीहरूले क्याम्पसको प्रशासनदेखि कक्षाकोठा र मुख्य गेटमा समेत ताला लगाइदिएका छन् । अनेरास्ववियु जिल्ला कमिटी जुम्लाका सदस्य तपेन्द्र खत्रीले जुम्लामा पढेर सुर्खेतमा परीक्षा दिन जान बाध्य हुनु दुःखद कुरा रहेको बताए ।

उनले भने, ‘राज्य प्रणाली विकेन्द्रीकृत भइसकेको अवस्थामा अझै केन्द्रीकृत प्रणाली लागू गर्नु संघीयताको विपरीत हो । जुम्लामा पढेर, जुम्ला परीक्षा केन्द्र भनेर फाराम भरेर अन्तिममा सुर्खेत गएर परीक्षा दिन बाध्य हुनु दुःखद कुरा हो ।’ वर्षातको समय सडक अवरुद्ध हुने र खर्चका हिसाबले पनि विद्यार्थीलाई मर्का पर्ने भएकाले जुम्लामै परीक्षा केन्द्र हुनुपर्ने एमएड दोस्रो वर्षमा अध्ययनरत लक्ष्मी परियारले बताइन् ।

त्रिभुवन विश्वविद्यालयले परीक्षा केन्द्र सुर्खेतबाहेक अन्य ठाउँमा राख्न नसकिने भनी परिपत्र गरेको क्याम्पस प्रशासनले जनाएको छ । परीक्षा केन्द्र परिवर्तनका विषयमा परीक्षार्थीबाट गुनासो आएपछि परीक्षा नियन्त्रण कार्यालय बल्खुमा जानकारी गराए पनि अहिलेसम्म कुनै जवाफ नआएको क्याम्पस प्रमुख ओम आचार्यले बताए ।

‘भौगोलिक रूपमा पनि जुम्लाबाट सुर्खेत गएर परीक्षा दिन कठिनाइ भएको जानकारी केन्द्रमा गराएका छौँ,’ उनले भने, ‘थोरै विद्यार्थी भएकाले परीक्षा केन्द्र मर्ज गरी जुम्लाको परीक्षा केन्द्र सुर्खेत तोकिएको हो भन्ने मात्र बुझिएको छ।’ विद्यार्थीहरूले भने आफ्नो माग पूरा नभएसम्म ताला नखोल्ने बताएका छन् ।

कमेन्टहरु