देश

फिल्म हललाई १० अर्बभन्दा बढी लगानी जोगाउन सकस

जगत ठाडा मगर
२०७७ कार्तिक २७ | बिहान ०९:०७ बजे

चार करोड लगानीमा अपग्रेड गरेको हेटौंडाको ओम्याक्स सिनेमा हल चल्न नपाउँदै २०७५ साउनमा आगलागी भयो । थप चार करोड लगानी गरेर २०७६ वैशाखबाट सञ्चालनमा ल्याइएको हल एक वर्ष नबित्दै कोरोना महामारीको चपेटामा पर्यो ।

ओम्याक्सका सञ्चालक नरेन्द्र महर्जनले चितवनको पर्सा र लालबन्दीमा पनि आधुनिक प्रविधिको सिनेमा हल खोलेका थिए । आठ महिनायता तीनवटै हल बन्द भएर आमदानीबिहीन बने पनि उनी बिजुलीको महसुल र कर्मचारीको तलब जुटाउन बाध्य छन् । ‘ठूलो संकट छ,’ उनी भन्छन्, ‘कति तनाव छ, भनिसाध्य छैन । गोजीबाट पैसा हालेर हल बचाइराखेका छौं ।’

देशभरका फिल्म हल सञ्चालकहरु अहिले महर्जनकै मनोदशामा छन् । हल खुल्ने दिन जति टाढिदै छ, उनीहरुको तनाव त्यति बढ्दो छ ।

कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले गत चैत ५ गते सिनेमा हलसहित भीडभाड हुने सबै व्यवसाय बन्द गर्ने निर्णय गरेको थियो । चैत ११ बाट त देशव्यापी लकडाउन नै भयो ।

असार १ पछि अन्य व्यावसाय क्रमशः खुला हुँदै गएपनि सिनेमा हलहरुमा लागेको ताल्चा खुलेको छैन । महामारी फैलिने जोखिम उच्च हुने भन्दै सरकारले सिनेमा हल खोल्ने विषयमा चासो पनि दिएको छैन । यो आठ महिनामा नै कतिपय हल सधैंका लागि बन्द गर्ने निर्णयमा सञ्चालकहरु पुगिसकेका छन् । जसोतसो हल टिकाउन लागेका सञ्चालकहरुले कहिलेसम्म मासिक खर्च जुटाउन सक्छन्, यसै भन्न सकिने स्थिति छैन । हलहरु नचल्दा तिनका सञ्चालकदेखि चलचित्र निर्माता, कलाकार र प्राविधिकसम्मको रोजीरोटीमा समस्या परेको छ ।

कमेन्टहरु