देश

हरसम्भव प्रयास गर्दा पनि सुत्केरी बचाउन नसकिएको नवजीवन अस्पतालको प्रष्टिकरण

नवलपुर टुडे
२०७८ अशोज १० | मध्यान्ह ०२:०६ बजे

धनगढी । कैलालीको नवजीवन अस्पतालले सक्दो कोसिस गर्दा पनि सुत्केरी महिलालाई बचाउन नसकिएको जनाएको छ । चिकित्सकहरुले हरसम्भव प्रयास गरेर उपचार गर्दा पनि महिलालाई बचाउन असफल भएको अस्पतालले एक विज्ञप्तिमार्फत प्रष्ट पारेको छ ।

आइतबार बिहान डोटी शिखर—६ की २६ वर्षीया सुत्केरी कल्पना सिंह ठकुरीको उच्च रक्तस्राव भएर मृत्यु भएको थियो । मृत्युपछि नवजीवन अस्पतालमाथि प्रेसर बढेको थियो । तनाव भएपछि अस्पतालले एक विज्ञप्ति जारी गर्दै उनलाई शनिबार बिहान १० बजे पेट दुखेर अस्पताल भर्नाको भएको ३९ हप्ताकी गर्भवती मल्लको पाठेघरको मुख नरम मात्रै भएर एक घर खुलेको र औषधीले अर्को घर खुलाइएको उल्लेख गरेको छ ।

बच्चाको धड्कन कम हुँदैं गएको र आमामा बच्चा जन्माउने बल नपुगेपछि भ्याकुमको सहायताले ११ः ४४ मा डेलिभरी गराइएको अस्पतालले जनाएको छ ।त्यसक्रममा पाठेघरको मुख फराकिलो बनाउन इपिसियोटोमी एक्सटेन्डेड टियर दिइएको बताईएको छ । इपिसियोटोमी एक्सटेन्डेड टियरलाई सिलाउन प्रयास गर्दा उनले असहज महसुस गरेपछि एनेस्थेसियालाई बोलाएर टाका सिलाउने काम गरिएको र त्यसक्रममा अत्याधिक रक्तस्राव भएको थियो ।

रक्तस्राव नरोकिएपछि चिकित्सकहरुले विभिन्न प्रयास गर्दा पनि बिरामीलाई कार्डियाक एरेष्ट भएर मृत्यु भएको र उनलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ । गर्भवती भएदेखि नै मल्ल नियमित रुपमा नवजीवन अस्पतालमा गर्भजाँच गराउँदैं आएकी थिइन्।

photo 2021 09 26 14 33 18

कमेन्टहरु