नेपाल वायुसेवा निगमका कर्मचारीले पाउने भए रोकिएको तलब


काठमाडौं । नेपाल वायुसेवा निगमका कर्मचारीले गत असारदेखि रोकिएको तलब पाउने भएका छन् । रोकिएको तलब उनीहरूले सोमवारदेखि पाउने भएका हुन् ।
निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलले विशेषाधिकार प्रयोग गर्दै पारिश्रमिक दिने निर्णय गरिएको जानकारी दिएका छन् । निगमको तालुक निकाय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग छलफल गरेर पारिश्रमिक दिने निधो गरिएको पौडेलको भनाइ छ । नेपाल वायुसेवा निगमका कर्मचारीहरू गत असार १८ गतेदेखि आन्दोलनरत छन् ।
महाप्रबन्धक पौडेलका अनुसार झन्डै २ साताको प्रयासपछि शुक्रवारको छलफलमा कर्मचारीले रोकिएको तलब पाउने निर्णय भएको हो । ‘कर्मशील एवं इमानदार कर्मचारीको जीवन निर्वाहमा कठिनाइ परिरहेको अवस्थालाई ध्यानमा राखेर हालसम्मको सम्पूर्ण पारिश्रमिक भुक्तानी दिने निर्णय गरिएको छ,’ उनले भने, ‘सो निर्णयअनुसार आन्दोलनरत कर्मचारीले पनि पारिश्रमिक पाउनेछन् ।’
निगमलाई कम्पनी मोडलमा सञ्चालन गर्ने तयारी हुँदै गर्दा त्यहाँ कार्यरत कर्मचारीहरु आन्दोलित बनेका हुन् । निगमलाई कम्पनी मोडलमा लैजान नहुने माग गर्दै आन्दोलन थालेको झन्डै ३ महीना बितिसक्दा पनि सहमतिको टुंगो लागेको छैन । आन्दोलन स्थगित गर्न भएका छलफलहरु निष्कर्षविहीन बनेका छन् ।
कर्मचारीको आन्दोलनका कारण निगमले चालू आर्थिक वर्षको बजेट तथा कार्यक्रम समेत पारित गर्न सकेको छैन ।






















