कक्षा ११–१२ को नयाँ पाठ्यक्रम कार्यान्वयनमा अन्योल


काठमाडौं । २० भदौ २०७६ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय पाठ्यक्रम तथा मूल्यांकन परिषद्को सिफारिस अनुसार विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप स्वीकृत गर्यो, जसअनुसार कक्षा ११ र १२ मा नयाँ पाठ्यक्रम लागू भएको छ ।
१९ कात्तिकमा सर्वोच्च अदालतले अल्पकालिन अन्तरिम आदेश दिएपछि भने नयाँ पाठ्यक्रम कार्यान्वयन रोकिएको छ । न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलाशले नयाँ पाठ्यक्रम तत्काल लागू नगर्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको हो ।
अदालतबाट मुद्दाको अन्तिम किनारा नलाग्दासम्म पाठ्यक्रम कार्यान्वयन हुने नहुने भने प्रष्ट छैन । नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी भन्छन्, ‘नयाँ पाठ्यक्रम कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने स्पष्ट नहुँदा अभिभावक र विद्यार्थी अन्योल छौं ।’
कहिले नयाँ, कहिले पुरानो पाठ्क्रमभन्दा अभिभावकमा दबाव सिर्जना गरेको भण्डारीको भनाइ छ । भन्छन्, ‘अदालतबाट फैसला चाँडो आयो भने हामीलाई सजिलो हुन्छ ।’
पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशवप्रसाद दाहाल अदालतको आदेश पर्खेर बसेको बताउँछन् । ‘अदालतमा विचाराधीन विषय भएकाले अहिले टिप्पणी गर्नु उचित हुँदैन’, दाहाल भन्छन् ।























