समाज

काठमाडौ महानगरपालिकाले मैतिदेबी मन्दिर नजिक रहेको करिब ७० बर्ष पुरानो रुख ढाल्यो

नवलपुर टुडे
२०७८ अशोज ९ | मध्यान्ह ०३:०६ बजे

काठमाडौं । काठमाडौ महानगरपालिकाले मैतिदेवी मन्दिर नजिकै रहेको करिब ७० वर्ष पुरानो रुख ढालेको छ ।

सुकेको बुढो रुख भएकोले सम्भावित दुर्घटना निम्त्याउने भएकाले करिब ७० वर्ष लामो इतिहास बोकेको रुख शनिबार बिहान ढालिएको हो। खरि प्रजातिको उक्त रुख ढलेर दुर्घटनाको जोखिम भएकाले रुख ढालिएको महानगरपालिकाका प्रहरी शंकर घिमिरेले बताए।

उनले भने, ‘रुख सुकिसकेकोले हावाहुरी चल्दा रुख ढलेर सानो ठुलो दुर्घटना निम्तिने जोखिम थियो। त्यसैले महानगरपालिकार स्थानीयहरुसँगको समन्वयमा रुख ढालिएको हो।’ करिब दुई घण्टाभन्दा बढी समय लगाएर उक्त रुख ढालिएको थियो। रुख ढाल्न महानगरपालिका र स्थानीयसहित करिब २० जनाको टोली खटिएको थियो।

महानगरपालिकाले सो रुख पहिलेदेखि नै हटाउने योजना बनाएपनि समय अभावका कारण यतिबेला ढालेको घिमिरेले बताए। काठमाडौं महानगरपालिकाअन्तर्गत वडापालिकाका विपद् व्यवस्थापक एवम् स्थानीय अम्रित प्रधानका अनुसार उक्त रुख करिब ७० वर्षभन्दा बढी उमेरको हो। रुख सुकेको करिब चार वर्ष भयो।

खरी प्रजातिको उक्त रुखको पिँधमा स्थानीय नेवार समुदायले कुमारी पूजा गर्दै आएका थिए। कुमारी पूजाको लागि रुखको फेद भने बाँकी राखिएको छ। काटिएको रुख महानगरले व्यवस्थापन गरेको छ । ‘सुकेको रुख जोगाउँदा जोगाउँदा हल्लिन थाल्यो।

सुकेको रुखको हाँगा खसेर गाडी र सडकमा हिड्ने मानिसमा चोट लाग्ने गर्थ्यो’ प्रधानले भने ‘त्यसैले रुख काट्ने निर्णयमा पुगियो।’ कुमारी पूजाको लागि भने महानगरपालिकासँग नयाँ खरिको बोट मागेर रोपिनेसमेत उनले बताए।

कमेन्टहरु