खेमबहादुरको बयान- ‘नारायणहिटी दरबारमा बसेर शासन चलाउने सोच आयो’


काठमाडौ । काठमाडौको म्हैपीमा बस्दै आएका खेमबहादुर घर्तीले शुक्रबार नारायणहिटी संग्रहालयभित्र टिकट लिएर प्रवेश गरे । एक्लै संग्रहालयमा छिरेका खेमबहादुर जब श्रीपेच राखेको सोकेश नजिकै पुगे र मुक्काले हिर्काएर श्रीपेच राख्ने सोकेस नजिकै रहेको खुकुरी राखेको सिसा फुटाए ।
सिसामा हिर्काउँदा उनको हातमा चोट लाग्यो । खुकुरीको सिसामा हिर्काएर श्रीपेचको सोकेसतिर लम्किएपछि त्यहाँ खटिएका नेपाली सेनाका सुरक्षा अधिकारीले उनलाई नियन्त्रणमा लिएका थिए । सिसा फुटाएपनि उनले खुकुरी निकाल्न पाएनन् । पश्चिम रुकुमको मुसिकोट नगरपालिका–११ घर भएका खेमबहादुरलाई अहिले महानगरीय प्रहरी वृत्त दरबारमार्गको हिरासतमा राखिएको छ ।
२५ वर्षका खेमबहादुरमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । श्रीपेचको सोकेसमा किन हिर्काउन खोजेको भनेर प्रहरीले सोध्दा खेम बहादुरले भनेका छन्–‘म राजा बन्छु, मलाई श्रीपेच लगाउनु छ भन्ने सोचेँ ।’ श्रीपेच लगाएर नारायणहिटीमा बस्ने र शासन चलाउने सोच आएपछि सोकेश फुटाउन खोजेको खेमबहादुरले बताएका छन् ।
प्रहरीको सम्पर्कमा पुगेका उनका परिवारले खेमबहादुरलाई मानसिक समस्या रहेको र नियमित औषधी सेवन गरिरहेको बताएका छन् । योजनाबद्ध तरिकाले उनले श्रीपेच चलाउन खोजेको नदेखिएको काठमाडौंका एसएसपी अशोक सिंहले भने– ‘आकस्मिक सोचका कारण गलत हर्कत गरेको देखिन्छ, हामी थप अनुसन्धान गर्दैछौं ।’
मानसिक समस्याका रहेको खेमबहादुरले आकस्मिक सोचका कारण संग्रहालयमा त्यस्तो व्यवहार देखाएको प्रहरीको निष्कर्ष छ । काठमाडौं प्रहरीले उनीविरुद्ध सार्वजनिक सम्पत्ति तोडफोड र सार्वजनिक हित विरुद्धको कसुरमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ ।






















