देश

व्यापारी हत्या प्रकरण : हत्यामा संलग्न चार जना सार्वजनिक

जगत ठाडा मगर
२०७८ अशोज ९ | बिहान ११:०६ बजे

बैतडी । बैतडीको सुर्नया गाउँपालिका–४ सन्सेरीमाडौँका व्यापारी कमलसिंह महराको हत्यामा संलग्न चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

सुर्नया गाउँपालिका–५ का रामबहादुर मडै, वडा नं ४ का शङ्करसिंह महरा, हरिशसिंह महरा र रामबहादुर महरालाई प्रहरीले सार्वजनिक गरेको हो । बिहीबार प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको थियो । तर हत्यामा तीन जनाको संलग्नता नदेखिएपछि उनीहरुलाई छाडिएको प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए ।

सुर्नया गाउँपालिका–४ को लेकडाँडा घर भई स्थानीय सन्सेरीमाडौँमा मासु पसल सञ्चालन गर्दै आएका कमलसिंह महरा बिहीबार बिहान मृत फेला परेका थिए । उनको टाउको, छाती र शरीरका अन्य भागमा चोट रहेकाले हत्या गरेको आशङ्कामा प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धानका लागि खटिएका इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाही नेतृत्वको टोली बिहीबार घटनास्थलमा खटिएको थियो । शाही नेतृत्वको टोलीले सो घटनामा संलग्न रहेकाहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा राखिएको छ ।

उनीहरुविरुद्ध कर्तव्य ज्यानअन्तर्गत मुद्दा दर्ता भई जिल्ला अदालतबाट सात दिनको म्याद थप गरिएको छ । घटनाबारे थप अनुसन्धान जारीे रहेको प्रहरीले जनाएको छ । मृतक महराको शव जिल्ला अस्पतालमा परीक्षणपश्चात आफन्तलाई बुझाइएको छ ।

कमेन्टहरु