देश

महिला अधिकारकर्मी तथा समाजसेवी कमला भासिनको निधन

नवलपुर टुडे
२०७८ अशोज ९ | बिहान ११:०६ बजे

काठमाडौं । आज (शनिबार) बिहान महिला अधिकारकर्मी कमला भासिनको निधन भएको छ । उनलाई केही महिनाअघि क्यान्सर रोगको पुष्टि भएको थियो ।

अधिकारकर्मी कविता श्रीवास्तावाले सामाजिक सञ्जाल ट्वीटरमार्फत भासिनको निधन भएको जानकारी गराएकी हुन् । उनले लेखेकी छन्, ‘हाम्रो प्रिय मित्र कमला भासिनको २५ सेप्टेम्बर बिहान ३ बजे निधन भएको छ । दक्षिण एसियाली क्षेत्र र भारतमा महिला अभियानका लागि यो ठूलो धक्का हो । कठिनाइकाबीच पनि उनले सधैँ आफ्नो जीवन खुसी साथ बिताइन् । कमला तिमी सधैँ हाम्रो हृदयमा रहिरहनेछौँ ।’

भासिनको जन्म सन् १९४६ अप्रिल २४ मा भारतको राजस्थानमा भएको थियो । उनका पिता डाक्टर थिए । कमला ६ सन्तानमध्ये चौथो थिइन् । उनले संगत नामक महिलाहरुको सञ्जालमा गरेको कामका लागि चिनिन्छन् । उनको कविता ‘क्यूँ कि मे लड्की हुँ, मुझे पढ्ना हे’ निकै चर्चित रहेको छ । ३५ वर्षभन्दा बढी समय उनले विकास, शिक्षा, लिङ्ग, मिडिया र अन्य क्षेत्रका मुद्दाहरूको काममा बिताइन् ।

सन् १९७२ मा उनले राजस्थानमा एउटा संस्था खोलेर त्यहाँका गरिबहरूको सशक्तीकरणमा काम गरिन् । सन् १९७६ देखि २००१ सम्म उनले संयुक्त राष्ट्रको फुड एन्ड एग्रिकल्चर अर्गनाइजेसन (एफएओ) मा काम गरिन् । सन् २००२ मा उनले संयुक्त राष्ट्रबाट राजीनामा दिएपछि भासिनले संगतको सुरुवात गरिन् । उनी यसको संस्थापक सदस्य र सल्लाहकार रहेकी थिइन् ।

कमेन्टहरु