दशै भन्दा अगाडि एक लाख मात्रा फाइजर खोप नेपाल ल्याइने


काठमाडौं । दशै अगावै एक लाख मात्रा फाइजर खोप नेपाल ल्याइने भएको छ । ल्याउने मिति तय नभए पनि दशै भन्दा अगाडि खोप नेपाल आइपुग्ने जानकारी सरकारी अधिकारीले दिएका छन् ।
अमेरिकन कम्पनी फाइजरले उत्पादन गरेको एक लाख मात्रा खोप कोभ्याक्स सुविधामार्फत आउन लागेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेक कुमार लाल कर्णले खोप छिट्टै आउने जानकारी दिएका छन् ।
कर्णका अनुसार उक्त खोप अस्पतालमा रहेका दीर्घरोगी, क्यान्सर, मिर्गौला फेल भई डायलासिस गराइरहेका, प्रत्यारोपण गरिएका व्यक्तिलाई मात्र दिइनेछ । फाइजर खोप लगाउने तरिका अरु खोप भन्दा फरक छ, डा. लालले भने, “सुरुमा चिकित्सकको प्रत्यक्ष निगरानीमा खोप लगाइने छ ।”
नेपालले यसअघि नै योजना पठाउँदा कोभ्याक्स मार्फत आउने फाइजर खोप दीर्घरोगीलाई लगाउने भनिएकाले तत्काल बालबालिकालाई नदिने उनले बताए ।






















