देश

श्रीपेच चोर खेमबहादुरको बयान : श्रीपेच लगाएपछि राजा बनिन्छ भन्ने लाग्यो

नवलपुर टुडे
२०७८ अशोज ८ | मध्यान्ह ०६:०६ बजे

काठमाडौं । रुकुम पश्चिम घर भएका २५ वर्षीय खेमबहादुर घर्ती मगर शुक्रबार अवलोकनका लागि नारायणहिटी दरबार संग्रहालय पुगे । टिकट काटेर संग्रहालयको विभिन्न कक्ष नियाल्दै अघि बढेका उनी जब श्रीपेच रहेको कक्षमा पुगे, अनपेक्षित गतिविधि गर्न थाले ।

उनले श्रीपेच राखिएको कोठाको भित्तामा रहेको सोकेसको सिसा फुटाए । त्यहाँबाट खुकुरी निकालेर श्रीपेच भएतिर अघि बढे । यद्यपि संग्रहालयको सुरक्षामा खटिएका नेपाली सेनाको टोलीले तत्काल उनलाई नियन्त्रणमा लियो ।

उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । प्रहरीलाई दिएको बयानका क्रममा उनले राजा बनेर शासन चलाउन श्रीपेच निकाल्न खोजेको बताएका छन् ।
वृत्तका प्रहरी प्रमुख डीएसपी रामेश्वर पौडेलल भन्छन्, ‘त्यही सोचका कारण कसैको प्रवाह नगरी सोकेसको सिसा फोड्दै अगाडि बढेको देखिन्छ ।’ प्रहरीको सम्पर्कमा आएकी उनकी दिदीले भने उनको मानसिक स्वास्थ्यमा समस्या रहेको बताएका छन् ।

वैदेशिक रोजगारीका लागि बहराइन पुगेका घर्ती एक वर्षअघि नेपाल फर्किएका थिए । दुई वर्ष बहराइन बसाईका क्रममा उनीमाथि कुटपिट भएको थियो, यसले उनको मानसिक स्वास्थ्यमा असर परेकाले नियमित औषधि लिइरहेका छन् । मैपी बस्ने खेमबहादुरकी दिदीले प्रहरीलाई बताए अनुसार स्वदेश फर्किए यता खेमबहादुर कहिले रुकुम पश्चिममा रहेको आफ्नो घर त कहिले काठमाडौं बस्दै आएका छन् ।

हाल प्रहरी नियन्त्रणमा रहेका उनमा डर त्रासको भाव समेत नदेखिएको भन्दै डीएसपी पौडेलले मानसिक स्वास्थ्यमा समस्या भएका कारण श्रीपेच निकाल्न खोजेको हुनसक्ने बताए ।

कमेन्टहरु