देश

चितवनमा किसान महासंघको संयुक्त राष्ट्रिय भेला सुरु

नवलपुर टुडे
२०७८ अशोज ८ | मध्यान्ह ०६:०६ बजे

चितवन । अखिल नेपाल किसान महासंघको संयुक्त राष्ट्रिय भेला शुक्रबारबाट चितवनमा सुरु भएको छ । भेलालाई नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापाले आज भरतपुरमा उद्घाटन गरेका हुन् ।

भेलालाई सम्बोधन गर्दै थापाले किसानको विकास र समृद्धिले मात्र देश विकास सम्भव हुने बताए । कृषिको सहकारीकरण गरेर किसानको उत्पादन र बजारीकरणलाई ब्यवस्थित गर्नुपर्ने आजको आबस्यकता रहेको उनले बताए । भुमिहिन किसानको समस्या समाधान गर्न गठन गरिएको भुमिसम्बन्धि समस्या समाधान आयोग खारेज गरेर सरकारले किसानहरुलाई दरिद्रतातर्फ धकेलेको उनले आरोप लगाए । अखिल नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष डा. प्रेम दंगालको अध्यक्षतामा भएको कार्यक्रममा अखिल नेपाल किसान महासंघ चितवनका ईन्चार्ज शम्भु सुवेदीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

उक्त अवसरमा नेकपा एमालेकी नेतृ एवम् राष्ट्रिय सभा सदस्य पार्वती रावल, राप्ती नगरपालिका प्रमुख प्रभा बराल, बागमती प्रदेशका पूर्व कृषिमन्त्री दावाद्वोर्जे लामा लगायतले बोलेका थिए । विषयगत उत्पादक, सामुदायिक र बर्गीय किसानका २२ संगठनका प्रतिनिधिहरुको कार्यक्रममा सहभागीता रहेको छ ।

भोलिसम्म जारी रहने सो संयुक्त राष्ट्रिय भेलामा किसानका सबै प्रदेश कमिटी र ७७ जिल्लाका ३०० भन्दा बढी किसान प्रतिनिधिको सहभागीता रहेको अखिल नेपाल किसान महासंघ चितवनका सचिव सिपी अधिकारीले जानकारी दिए । भेलामा २२ विषयगत संघको समुहगत छलफल हुनेछ भने कृषिमा आत्मनिर्भरता, व्यावसायिक कृषि र कृषिमा आधुनिकिकरणका सन्दर्भमा राष्ट्रिय भेलामा छलफल हुने छ ।

उक्त भेलाले किसानको समस्या र मुद्दालाई एकताबद्ध ढंगले उठान गरिने अखिल नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष डा. प्रेम दंगालले जानकारी दिए । राष्ट्रिय भेला पश्चात किसान महासंघले भोलि शनिबार चितवन घोषणा पत्र जारी गर्ने छ ।

कमेन्टहरु