एमालेको विरोधकाबीच राष्ट्रियसभाले अघि बढायो बजेटसँग सम्बन्धित दुई विधेयक

नवलपुर टुडे
२०७८ अशोज ८ | मध्यान्ह ०१:०६ बजे

काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेको विरोधका बीच राष्ट्रियसभाले बजेटसँग सम्बन्धित दुई विधेयक अघि बढाएको छ ।
शुक्रबार बैठक सुरु हुनासाथ एमाले संसदीय दलका नेता खिमलाल देवकोटाले आफूहरुको विरोध जारी रहेको बताए । सभाध्यक्ष गणेश तिमल्सिनाले आर्थिक विधेयक अगाडि नबढाउँदा सिंगो राष्ट्र ठप्प हुने स्थिति रहेको बताए । एमालेकै अवरोधका बीच बैठक अगाडि बढाउन राम्रो नलागेको भन्दै तिमिल्सिनाले बस्न आग्रह गरेका थिए ।
तर एमाले सांसदहरुले नमानेपछि उनले बैठक अघि बढाए । बैठकमा अर्थमन्त्री जनादर्न शर्मा प्रभाकरले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधयेक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गरे । दुवै प्रस्ताव बहुमतले पारित भयो ।
दुवै विधेयकमाथि दफावार छलफलका लागि ११ गते बैठक तोकिएको सभाअध्यक्षले जानकारी दिए ।






















