राजनीति

विधान महाधिवेशनलाई व्यवस्थित, एकताबद्ध र मर्यादित रूपमा सम्पन्न गर्न अध्यक्ष ओलीको आग्रह

नवलपुर टुडे
२०७८ अशोज ८ | मध्यान्ह ०१:०६ बजे

काठमाडौं । नेकपा एमालेको आजदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आउदो असोज १५ देखि १७ गतेसम्म हुने विधान महाधिवेशनका लागि तयार राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बसेको बैठकको आरम्भमा मन्तव्यसहित अध्यक्ष ओलीले प्रतिवेदन प्रस्तुत गरेका हुन् । बैठकमा साङ्गठनिक प्रतिवेदन तथा विधान संशोधनको मस्यौदा प्रस्तुत गर्नुका साथै छलफल पनि हुनेछ ।

ओलीले भने, “विधान महाधिवेशनलाई व्यवस्थित, एकताबद्ध र मर्यादितरुपमा सम्पन्न गर्नुपर्नेछ । हाम्रा आन्तरिक र राष्ट्रिय राजनीतिका समस्या छन् । त्यसमा छलफल गर्नुपर्छ । आगामी मङ्सिरमा हुने पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन त्यसपछि तोकिने स्थानीय निर्वाचनको तयारीमा जुट्न आवश्यक छ ।”

अध्यक्ष ओलीले स्थायी कमिटीको सुझावसहित प्रतिवेदन ल्याइएको र विधान महाधिवेशनको व्यवस्थापनलाई पनि सँगसँगै अघि बढाउनुपर्ने बताए । बैठकमा पार्टीका केन्द्रीय निकायमा प्रतिवेदन प्रस्तुत गरिने बताइएको छ ।

कमेन्टहरु