डीआइजीका नाममा पैसा उठाएको आरोपमा रौतहटम महिला पक्राउ


रौतहट । प्रदेश-२ का डीआइजीको नाममा रकम उठाएको आरोपमा रौतहटमा एक महिला पक्राउ परेकी छिन् । रौतहटको गरुडा नगरपालिकामा विर्तामा रहेको प्रहरी विद्यालयमा स्थायी जागिर लगाइदिने भन्दै २ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उमेश रंजितकारको नाममा पैसा उठाएको आरोपमा सर्लाही हरिवन नगरपालिका-११ की शुसिला थापा दहाललाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी श्रीराम भण्डारीले बताए ।
पक्राउ परेकी महिलाले प्रहरी विद्यालय गरुडामा शिक्षक पदमा स्थायी नियुक्ति गराइदिने भन्दै पर्सा मणिपुरका उदास कुमार पाण्डेसँग ६ लाख रुपैंया माग गरेको थिइन् । पाण्डेसँगको फोन संवादमा थापाले डीआइजी रंजितकारको नाममा सो रकम माग गरेको अडियो रेकर्ड बाहिरिएको थियो ।
प्रदेश प्रहरी प्रमुखले रकम मागेको भन्दै अडियो बाहिरिएपछि थापालाई बिहीबार प्रहरी विद्यालयमा बोलाइएको थियो। फोन रेकर्डमा सुनिएको आवाज आफ्नै भएको उनले स्वीकारेकी छिन । इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी भण्डारीले भने ‘घटनाको छानबिनका लागी अहिले उनलाई नियन्त्रणमा राखिएको छ । फोन रेकर्ड गरेर आफूलाई बार्गेनिङ्ग गरेको पक्राउ परेकी महिलाले जनाएकी छिन्।
यता प्रदेश २ प्रहरी कार्यालयले समेत घटनाका विषयमा ध्यानाकर्षण भएको जनाएको छ । डिआइजीको नाममा घुसा उठाएको बारेमा हिजो केही सञ्चारमाध्यमले खबर सम्प्रेषण गरेकोमा त्यसमा कुनै सत्यता नभएको र पक्राउ परेकी महिलामाथि कसुर अनुसारको कानूनी कारवाही हुने प्रदेश-२ प्रहरी कार्यालयले जनाएको छ ।






















