पाँचदलीय गठबन्धन चुनावसम्मै कायम रहन्छ : प्रचण्ड


पाँचखाल । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमसिसी बीचमा घुसाएर गठबन्धन टुटाउन केही मानिसहरू लागिपरेको बताएका छन् । तर, त्यस कारणबाट आफूहरूको गठबन्धन नटुट्ने उनले बताए । बिहीबार काभ्रेको पाँचखालमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । ‘केही मानिसहरूले बीचमा एमसिसी ल्याएर दिमाग खराब गरेका छन् । एमसिसी बीचमा घुसाएर गठबन्धन टुटाइदिने भनेर सपना देखिरहेका छन् ।
एमसिसीको विषयमा शेरबहादुर र प्रचण्ड झगडा गर्छन् गठबन्धन त्यसपछि टुटिहाल्छन् नि भन्ने छ ।’ प्रचण्डले भने, ‘तर, एमसिसी हाम्रा लागि मुख्य कुरो होइन, गठबन्धन मुख्य कुरा हो, त्यसमा हामी सबै सहमत भएर हिँडेका छौँ, ढुक्क हुनुहोस्, गठबन्धन टुट्दैन ।’ गठबन्धन मिलेर तानाशाहलाई बालुवाटारबाट बालकोट सारेको उनले बताए । गठबन्धन तोड्नको लागि अझै अरू कसरतहरू भैरहेको र खतरा टरिनसकेको प्रचण्डको भनाइ छ । गठबन्धन अर्काे चुनावसम्म रहिरहने प्रचण्डको भनाइ छ । उनले भने, ‘अझै खतरा टरिसकेको छैन ।
गठबन्धन तोड्नका लागि अनेक कसरतहरू, षडयन्त्रहरू भइराख्या छन् ।’ उनले भने, ‘हिजो बेलुका मात्रै हामी गठबन्धनका शीर्ष नेताहरूको बैठक बसेका थियौँ, बालुवाटारमा । विपक्षीको षडयन्त्रबारे छलफल गर्याैँ, जस्तोसुकै मूल्य चुकाउन परे पनि चुकाउने, हरेक पार्टी जस्तोसुकै त्याग गर्न पनि तयार हुने, अर्काे चुनावसम्म गठबन्धन बनाएरै चुनाव लड्ने तर गठबन्धन कमजोर हुन नदिने हामीले त्यो संकल्प गरेका छौँ ।’






















