मुख्य समाचार

राष्ट्रपतिले बजेट प्रमाणीकरण गरेसँगै सरकारलाई संघीय सञ्चित कोषबाट खर्च गर्न पाउने बाटो खुल्यो

नवलपुर टुडे
२०७८ अशोज ७ | मध्यान्ह ०६:०६ बजे

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले बजेट (विनियोजन विधेयक, २०७८) प्रमाणीकरण गरेकी छन् । बजेट प्रमाणीकरण गरेसँगै सरकारलाई संघीय सञ्चित कोषबाट खर्च गर्न पाउने बाटो खुलेको छ ।

संघीय संसद्का दुवै सदनको बैठकबाट पारित बजेट प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयमा प्रमाणीकरणका लागि पठाएका थिए । राष्ट्रपतिले संविधानको धारा ११३ को उपधारा (२) मा भएको व्यवस्थाबमोजिम बजेट प्रमाणीकरण गरेकी हुन् ।

प्रतिनिधिसभाको अघिल्लो बैठकले पारित गरेको विनियोजन विधेयक आजै बसेको राष्ट्रियसभा बैठकबाट पनि पारित भएको थियो । पारित गरेको सो विधेयक प्रतिनिधिसभामा फर्काएको थियो । अघिल्लो सरकारले अध्यादेशमार्फत १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बराबर बजेट ल्याएको थियो । सो बजेटको आकार १४ अर्ब ७४ करोड रुपैयाँले घटाउँदै वर्तमान अर्थमन्त्री जनार्दन शर्माले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट प्रतिस्थापन विधेयक अघि सारेका थिए ।

अघिल्लो सरकारले अध्यादेशबाट ल्याएको बजेट भदौ ३० गते नै निष्क्रिय भएको थियो । वर्तमान सरकारले सटडाउन निम्तिन नदिने गरी समयमै प्रतिस्थापन विधेयक ल्याउन नसक्दा भदौ ३१ गतेदेखि सरकारले संघीय सञ्चित कोषबाट खर्च गर्न नपाउने स्थिति (सटडाउन) निम्तिएको थियो ।

संवैधानिक अङ्ग तथा निकायहरू (संघीय सञ्चित कोषमाथि हुने व्ययभार) बाहेक अन्य खर्च रोकिएको थियो । राष्ट्रपतिले बजेट प्रमाणीकरण गरेसँगै एकसाता लामो सटडाउन अन्त्य भएको हो । भोलि (शुक्रबार) देखि नै सरकारले संघीय सञ्चित कोष चलाउन पाउने छ ।

कमेन्टहरु