हामी विजेता हौं, केपी हरूवा हो, भगौडा हो : प्रचण्ड


काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि खनिएका छन् ।
बिहीबार योङ कम्युनिष्ट लिग नेपाल´को दोस्रो पाँचखाल नगर सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले ओली हरूवा र भगौडा भएको बताएका छन् । नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि ओलीलाई नेपालको महान् नेता बन्ने अवसर भए पनि उनको बुद्धि नपुगेको प्रचण्डले तर्क प्रस्तुत गरे ।
‘मैले केपीजस्तो बुद्धि नभएको नेता अर्को देखेको छैन । दुई पार्टी एक भएपछि उनलाई नेपालको महान् नेता बन्ने अवसर थियो,’ प्रचण्डले भने,‘तर गिदीमा गोबर भरिएपछि के गर्ने ।’ केपी व्यक्ति नभएर दम्भी, अहंकारी, सामन्ती हिन्दुवादी प्रवृत्ति भएको उनले बताए । ओलीले माओवादी र माओवादी नेतृत्वलाई सखाप पार्न प्रतिनिधि सभा विघटन गरेको प्रचण्डले बताए ।
ओलीको उक्त षडयन्त्रमा विदेशीहरूले साथ दिएका थिय तर हामीले त्यसलाई हरायौं । नेकपा हुँदा केपीको प्रवृत्ति उजागर गरेर उनलाई पार्टी साधारण सदस्यबाट निकाल्यौं,´ प्रचण्डले भने,‘पछि पनि उनलाई बालुवाटारबाट बालकोट पुर्यायौं । हामी विजेता हौं । केपी हरूवा हो, भगौडा हो ।’ माओवादी युद्धका बेला प्रतिक्रियावादीहरूले आफूहरूलाई घेरा हाल्ने र सखाप पार्ने रणनीति बनाएजस्तै पछिल्लो समय ओलीले त्यस्तै कोशिश गरेको प्रचण्डले बताए ।
उनले भने ‘अहिले पनि खतरा टरिसकेको छैन । अहिले पनि हाम्रो गठबन्धनलाई टुटाउन षडयन्त्र भइरहेका छन् । जस्तोसुकै त्याग गर्नु परे पनि हामीले अर्को चुनावसम्म अहिलको गठबन्धनलाई टुट्न नदिने प्रतिवद्धता जनाएका छौं ।’






















