देश

राष्ट्रियसभाबाट आर्थिक वर्ष २०७८/७९ को बजेट बहुमतले पारित

जगत ठाडा मगर
२०७८ अशोज ७ | मध्यान्ह ०२:०६ बजे

काठमाडौं । राष्ट्रियसभाले आर्थिक वर्ष २०७८/७९ को बजेट बहुमतले पारित गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले बिहिबार बसेको बैठकमा प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त विनियोजन विधेयक २०७८ लाई पारित गरियोस भनी प्रस्ताव पेश गरेका थिए ।

अर्थमन्त्रीले पेश गरेको प्रस्तावलाई राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्णयार्थ प्रस्तुत गरेपछि बहुमत सदस्यले पारित गरेका हुन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने उठेर चर्को विरोध जनाएको थियो । अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको बजेटमाथि गत साउन २५ गते अर्थमन्त्री शर्माले प्रतिनिधि सभामा प्रतिस्थापन विधेयक प्रस्तुत गरेका थिए ।

प्रतिनिधिसभाबाट पारित भएको सो विधेयक सन्देशसहित राष्ट्रियसभामा पठाइएको थियो । राष्ट्रियसभाले समेत स्वीकृत गरेको सो विधेयक अब राष्ट्रपतिले प्रमाणित गरेपछि कार्यान्वयनमा आउनेछ ।

राष्ट्रियसभाको अर्को बैठक आगामी असोज ८ गते बिहान ११ बजे बस्नेगरी सकिएको छ ।

कमेन्टहरु