देश

छोरी बलात्कारको आरोपमा पक्राउ परेका अभियुक्त ५ लाख धरौटीमा रिहा

जगत ठाडा मगर
२०७८ अशोज ७ | मध्यान्ह ०१:०६ बजे

विराटनगर । छोरीलाई बलात्कार गरेको आरोप लागेका पुरुषलाई जिल्ला अदालत मोरङले पाँच लाख रुपैयाँ धरौटीमा छाडेको छ ।

न्यायाधीश तेजेन्द्रबहादुर खड्काको इजलासले १४ वर्षीया छोरी बलात्कारको आरोपमा पक्राउ परेका बेलबारीका ५१ वर्षीय पुरुष धरौटीमा छाड्न आदेश दिएको हो । गत माघ २० गते राति बलात्कार भएको भन्दै भदौ ४ गते इलाका प्रहरी कार्यालय बेलबारीमा जाहेरी परेको थियो । अदालतले पीडित छोरीको मेडिकल रिपोर्ट, आरोपी र आरोपीकी आमाको बयानका आधारमा अभियुक्तलाई धरौटीमा छाडेको हो ।

पीडित बालिकाकी आमाका अनुसार छोरा नागरिकता बनाउन र छोरी जन्मदर्ता लिनका लागि घरमा गएका थिए । जिल्ला अदालतमा पीडितका आमा–बुबाबीच अंश र सम्बन्ध विच्छेदको मुद्दा जारी छ ।

आरोपीको बयान : कुनै घटना भएको छैन

बालिकाले दिएको जाहेरीमा माघ २० गते राति हजुरआमासँग सुतेका बेला ओछ्यानबाट बाबुले उठाएर स्टोर कोठामा लगि करणी गरेको उल्लेख छ । तर आरोपीले माघ २० गते राति छोरी घरमा नभएको र आफू पनि काममा गएको दाबी गरेका छन् ।

हजुरआमाले पनि २० गते नातिनी आफू सँगै नसुतेको बयान दिएकी छन् । आरोपीले बयानमा अदालतमा रहेको सम्बन्ध विच्छेद र अंश फिर्ताको मुद्दालाई प्रभावित पार्न बलात्कारको मुद्दा हालेको दाबी गरिएको छ । दुईवटी श्रीमतीलाई अंशबण्डा गरेर आफू कान्छी श्रीमतीसँग बसेको भएपनि विदेशमा भएका बेला श्रीमतीले घर छाडेर हिडेपछि अंश फिर्ती र सम्बन्ध बिच्चेदको मुद्दा हालेको उनले उल्लेख गरेका छन् ।

अदालतले अंश दुई छोरा छोरीको नाममा गर्न यसअघि नै आदेश दिएको थियो ।

मुद्दा उच्च अदालतमा जाने नजाने अन्योलमा

जिल्ला सरकारी वकिलको कार्यालय मोरङका सहायक जिल्ला न्यायाधीवक्ता मनिश पोखरेलका अनुसार अदालतको आदेशपछि पुनरावलोकन निवेदनका लागि उच्चमा जाने वा नजाने भन्ने विषयमा अलमल छ । मुद्दामा प्रमाण कमजोर भएका कारण उच्चमा जाने नजाने भन्ने अन्योल भएको हो ।

माघमा घटना भएको र भदौ ४ गते उजुरी गरेका कारण मेडिकल रिपोर्टले पनि बलात्कार पुष्टि हुने स्पष्ट आधार नदेखिएको बताए । रिपोर्टमा यौनाङ्गमा सामान्य असर भने देखिएको उनले बताए । सरकारी वकिलको कार्यालय स्रोतका अनुसार आमा बुबाबीच विवाद भएको र विगतमा पनि अंश मुद्दा चलिरहेका कारण प्रभावकारी अनुसन्धान भएको देखिँदैन ।

कमेन्टहरु