देश

धितोपत्र बोर्डका अध्यक्ष ढुंगानामाथि छानबिन सकियो, समितिले सरकारलाई बुझायो प्रतिवेदन

नवलपुर टुडे
२०७८ अशोज ५ | मध्यान्ह ०६:०६ बजे

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानामाथि लागेको आरोपको सम्बन्धमा चेकजाँच गर्न गठन गरिएको समितिले मंगलबार सरकारलाई प्रतिवेदन बुझाएको छ । अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा समितिका अध्यक्ष उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेले छानबिन प्रतिवेदन अर्थमन्त्री जनार्दन शर्मालाई बुझाएका हुन् । धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाले धितोपत्रको भित्री कारोबार तथा धितोपत्र व्यवसाय गरी बोर्डलाई हानी नोक्सानी पुर्‍याईएको भनी आरोप लागेको थियो । उनले बोर्डको हित र पुँजी बजारको विकासविपरीत हुने गरी पदीय आचरणविपरीत काम कारबाही गरेको भन्ने सम्बन्धमा जाँचबुझ गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्न गत भदौ १६ गतेको मन्त्रिपरिषद् बैठकले जाँचबुझ समिति गठन गरेको थियो। धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ७ को उपदफा ७ र नेपाल धितोपत्र बोर्डसम्बन्धी नियमावली २०६४ को नियम ११ बमोजिम गठित समितिले तोकिएको समयभित्रै प्रतिवेदन पेस गरेको हो । जाँचबुझ प्रतिवेदन बुझ्दै अर्थमन्त्री शर्माले यसको अध्ययन गरेर सरकारले आवश्यक निर्णय गर्ने बताएका छन् । अध्ययन प्रतिवेदनको निष्कर्ष तथा सुझाबले धितोपत्रसम्बन्धी कारोबारलाई व्यवस्थित र सुरक्षित गर्न तथा पुँजी बजारका सम्पूर्ण लगानीकर्ताहरूको हित रक्षामा सहयोगी हुने धारणा राखे । सेयर बजार आफ्नै नियम र पद्धतिमा अघि बढ्ने विषय भएकोले मन्त्रीको कारणले सेयर बजार घटबढ नहुने उनले बताएका छन् ।

कमेन्टहरु