देश

लोपोन्मुख जीव रेडपान्डाको तस्करी बढ्दै , सरोकारवाला निकाय मौन

जगत ठाडा मगर
२०७८ अशोज ५ | मध्यान्ह ०१:०६ बजे

काठमाडौ । लोपोन्मुख वन्यजन्तु रेडपान्डाको तस्करी बढ्दै गएको पाइएको छ । प्रहरीले सार्वजनिक गरेको तथ्यांकले पनि यसलाई पुष्टि गरेको छ । जाजरकोटको बारेकोट, नलगाड र डोल्पाको मुड्केचुला क्षेत्रमा तुलनात्मक रूपमा रेडपान्डा धेरै पाइन्छ ।

संरक्षणका लागि सरोकारवालाको निगरानी कम हुँदा रेडपान्डालगायतका जनावर तस्करको निशानामा परेका छन् । खुलेआम रेडपान्डालगायका अन्य जीवको सिकार गर्न व्यापारीहरू गाउँगाउँमा पुग्ने गरेको बारेकोट गाउँपालिका–५ का स्थानीय प्रेम सिंहले बताए । सामुदायिक तथा राष्ट्रिय वनमा वन्यजन्तुको संरक्षणभन्दा पनि चोरी गर्नेको संख्याको बढी भएको उनी बताउछन् ।

उनले भने, ‘हप्तैपिच्छे बारेकोटको जंगलमा वन्जजन्तुको सिकार हुने गरेको छ । सरोकारवाला निकायले थाहा पाएर पनि थाहा नपाएझैँ गरिरहेको छन् । बन्दुक पड्काएको आवाज प्रहरी चौकीमै सुनिन्छ, तर कसलाई के मतलब ? वनका कर्मचारीहरु सदरमुकाम मात्र बस्छन् ।’ रेडपान्डा संरक्षणका लागि विभिन्न संघसंस्थाले कार्यक्रम गर्दै आएका छन् ।

तर, कार्यक्रममा सहभागी हुनेहरूले नै तस्करसँग मिलेर वन्यजन्तुको सिकार गर्ने गरेका बारेकोट– ४ मैनाका रामबहादुर बस्नेतको आरोप छ । उनले भने, ‘चोरी निकासी रोक्नुपर्छ भन्दा अघिल्लो वर्ष वडाध्यक्ष सिर्जना बस्नेतविरुद्ध तस्कर समूहको मिलेमतोमा असहयोग गर्ने काम भयो । प्रहरीले वन समूहलाई समेत सहयोग गरेन । उल्टै राजनीतिक पावरमा तस्करहरू जोगाउने काम भयो । यसरी कहाँ वन र वन्यजन्तु जोगाउन सकिन्छ ?’

वनजंगल संरक्षणको अभावमा वन्यजन्तुको चोरी निकासी मौलाएको छ । स्थानीय पालिकाले वन्यजन्तु संरक्षणका लागि ठोस योजना नबनाउदा पनि तस्कारहरूलाई सजिलो भएको छ । बारेकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत तथा वन्यजन्तु संरक्षण अभियन्ता गोविन्द सिंहका अनुसार यहाँ तस्करको पकड बलियो छ । स्थानीयवासी नै सचेत नहुने हो भने तस्करले सबै वन्यजन्तु सिध्याउने उनको चिन्ता छ ।

डिभिजन वन कार्यालय र यसका मातहतका कार्यालयको पहुँच कम हुँदा र अधिकार क्षेत्रको लडाइँका कारण पनि वन्यजन्तु संरक्षणमा समस्या हुँदै आएको छ । डिभिजन कार्यालयबाट खटिएको भनी गलत अभिलेख दिएर सदरमुकाममै बसेर गाउँको भत्ता पकाउने वनका कर्मचारीका कारण संरक्षणमा चुनौती हुँदै आएको स्थानीय बताउँछन्।

सामुदायिक वन समूहका पदाधिकारीहरू तस्करसँग खुलेआम मिल्दा अर्को समस्या सिर्जना भएको छ । समूहका पदाधिकारीलाई वन्यजन्तुको संरक्षण तथा जोगाउने विषयमा खासै जानकारी नभएको एवं ‘छोरा हुनेको धन र भैँसी हुनेको वन’ भन्ने सोच अझै कायम हुँदा चोरी निकासीलाई बल पुगेको स्वयं डिभिजन वन कार्यालयले स्वीकार गर्छ ।

बर्सेनि सामुदायिक वनमा घाँस उत्पादन हुन्छ भन्दै डढेलो लगाउने व्यक्तिलाई समेत कारबाही नहुनाले वन्यजन्तुको वासस्थान नै जोखिममा पर्दै गएको छ । रेडपान्डाको वासस्थानको रूपमा रहेको निगालोको बाक्लो जंगल, रूखका मुडाहरू बर्सेनि फँडानी, आगलागीका कारण माँसिदै गएको छ । यसले पनि वन्यजन्तु लोप हुने क्रम बढिरहेको छ ।

कमेन्टहरु