देश

आईसीसी क्रिकेट वर्ल्डकप लिग टू खेल्न गएका नेपाली क्रिकेट टोली आज स्वदेश फर्कियो

जगत ठाडा मगर
२०७८ अशोज ५ | बिहान ०९:०६ बजे

काठमाडौं । आईसीसी क्रिकेट वर्ल्डकप लिग टू खेल्न ओमन गएको नेपाली क्रिकेट टोली आज मंगलबार स्वदेश फर्किएको छ ।

आज बिहान करिब साढे ७ बजे १७ खेलाडीसहित २० जनाको टोली त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो । खेलाडीहरु नेपाल फर्किए पनि प्रशिक्षक डेभ वाटमोर र ट्रेनर भने ओमनबाटै भारत गएका छन् । ‌ओमन रहँदा अमेरिका र आयोजक ओमनसँग दुई/दुई खेल खेलेको नेपालले दुवै टोलीसँग एक/एक खेल जितेको थियो भने एक/एक खेलमा हारेको थियो ।

लिग टू मा नेपाल ८ अंक जोड्दै अंकतालिकामा चौथो स्थानमा छ । ८ खेलबाट नेपालले ४ जित र ४ हारको नतिजासहित ८ अंक नै जोडेको हो । नामिबिया समान ८ अंक भए पनि नेपाल रनरेटमा अघि रहेको छ । ओमन १३ खेलबाट २० अंकसहित शीर्ष स्थानमा छ । १५ खेल खेलिसकेको अमेरिका १४ अंकसहित दोस्रो स्थानमा छ । यस्तै स्कटल्याण्ड ८ खेलबाट ९ अंकसहित तेस्रो स्थानमा छ ।

लिग टू मा ७ वटै टिमले ९ सिरिजसहित ३६ खेल खेल्नेछ । नेपालले ओमन टुरपछि अझै लिग टू मा ७ सिरिज खेल्न बाँकी छ ।

कमेन्टहरु