देश

नेपाल सशस्त्र प्रहरीमाथि भारतीय तस्कर समूहको आक्रमण, ३ जना घाइते

जगत ठाडा मगर
२०७८ अशोज ५ | बिहान ०८:०६ बजे

धनगढी । कञ्चनपुरमा भारतीय तस्कर समूहले आक्रमण गर्दा तीन जना नेपाल सशस्त्र प्रहरी घाइते भएका छन् ।

सोमबार साँझ करिब ८ बजेतिर दोधाराचाँदनी नगरपालिका–८ को कञ्जभोज नजिकै नेपाल–भारत सीमा क्षेत्रमा गस्तीमा खटिएका सशस्त्र प्रहरीको टोलीमाथि भारतीय तस्करको समूहले आक्रमण गरेका हुन् । आक्रमणबाट सशस्त्र प्रहरीको बीओपी कञ्जभोजमा कार्यरत तीन जना जवान समान्य घाइते भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ नम्बर गण शैलेश्वरीले जनाएको छ ।

घाइतेहरुको दोधाराचाँदनीस्थित स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । नेपालतर्फ विभिन्न समान तस्करी भइरहेको अवस्थामा सशस्त्र प्रहरीको गस्ती टोलीसँग भेट हुँदा एक्कासी उनीहरुले ढुङ्गामुढा प्रहार गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) वीरेन्द्र ऐरले बताए ।

तस्करको समूहलाई नियन्त्रणमा लिने प्रयास गरे पनि ३०/४० मिटर नजिकै भारतीय भूमि भएकाले उनीहरु भाग्न सफल भएको एसपी ऐर बताउँछन् । ‘हामीले नियन्त्रणमा लिने कोसिस गर्दा उनीहरु भागेर भारतीय भूमिमै प्रवेश गरेपछि एसएसबी र भारतीय प्रहरीलाई जानकारी गराएका थियौं,’ ऐरले भने, ‘तत्कालै एसएसबी र भारतीय प्रहरी घटनास्थल पुगेको थियो । उहाँहरुले उक्त समूहको पहिचान गरेर कारवाही गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।’

एसपी एरका अनुसार भारतीय तस्करको समूहको पहिचान भइसकेको छ र मंगलबार तस्करको समूहलाई नियन्त्रणमा लिएर कानून बमोजिम कारवाही गर्ने आश्वासन भारतीय पक्षले दिएको छ ।नेपाल–भारत सीमा क्षेत्रमा बेलाबखत गस्तीमा खटिएका सुरक्षाकर्मीमाथि तस्करको समूहबाट आक्रमण हुँदै आएको छ ।

पर्याप्त पूर्वतयारीको अभाव र दुवै देशका सुरक्षा अधिकारीबीचको कमजोर समन्वयका कारण यस्ता घटनाहरु बारम्बार भैरहेको अधिकारीहरु बताउँछन् ।

कमेन्टहरु