देश

बाख्रा खोरमा आगलागी हुँदा जलेर गम्भीर घाइते, उपचार खर्चको अभावमा घरमै छटपटाउँदै

जगत ठाडा मगर
२०७८ अशोज ५ | बिहान ०८:०६ बजे

गोरखा । गोर्खा जिल्लाको धार्चे गाउँपालिका-२ रुञ्चेतकी गर्बी गुरुङ बाख्राको खोरभित्र जलेर घाइते भएकी छन् । गत असोज १ गते राती निदाइरहेका बेला बाख्रा खोरमा आगलागी हुँदा १३ वटा बाख्रासँगै ४५ वर्षीया गर्वी पनि जलेर घाइते भएकी हुन् ।

‘ज्यानभरि जताततै जलेर भाउजुको अवस्था गम्भीर छ’, उनका आफन्त वीरेन्द्र घलेले भने, ‘कहिले होस खुल्छ, कहिले बेहोस हुनुहुन्छ । उपचार गराउन सहर लैजानुपर्ने हो, तर बाटो खर्च नभएर घरमै छटपटाइरहनु भएको छ ।’ घाइते घले राति सुतिरहेको बेला अचानक खोरमा आगो सल्किएको थियो । आगलागीबाट १३ वटामध्ये नौ वटा बाख्रा जलेर खरानी भएको अर्का स्थानीय वीरबहादुर गुरुङले बताए ।

‘गाउँभन्दा तल गण्डकीको किनारमा गोठ थियो । उहाँ सुतिरहेका बेला हावा चलेछ र अँगेनाको आगो गोठमा सल्किएछ’, वीरबहादुरले भने, ‘गोठ खरले छाएको थियो । दाउराले भरिएको गोठमा आगो सल्किएपछि उहाँ घाइते हुनुभयो । बाख्रा पनि जलेर खरानी भयो।’ गम्भीर घाइते अवस्थामा छिमेकी गोठका गाउँलेले उनको उद्धार गरेको गुरुङले बताए ।

सदरमुकामबाट दुई दिनको बाटो टाढा रहेको रुञ्चेत गोरखाको एक दुर्गम गाउँ हो । घाइतेको आर्थिक अवस्था नाजुक भएकाले आफन्तहरु उपचार खर्चको अपेक्षामा छन् । घाइतेलाई सहयोग गर्न चाहनेले उनका आफन्त वीरेन्द्र घलेलाई (९८६९५२६४६२) सम्पर्क व्यक्ति तोकेको परिवारजनले जनाएका छन् ।

कमेन्टहरु