एनसेलले कोरोनासम्बन्धी जनसचेतना अभिवृद्धिका लागि सहकार्य गर्दै


एनसेल आजियाटा लिमिटेडले व्यवसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत नागरिकमा कोरोनासम्बन्धी जनसचेतना फैलाउने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र यूनीसेफ नेपालसँग सहकार्य गरेको छ ।
कम्पनीले प्रेषित गरेको विज्ञप्तिअनुसार कोरोना भाइरससम्बन्धी जनसचेतना अभिवृद्धिको अभियानमा नेपाल सरकारद्वारा प्रमाणित तथा सिफारिस गरिएको कोरोनाभाइरसबाट बच्न र बचाउन अपनाउनुपर्ने तीन मुख्य उपायहरु—व्यक्ति व्यक्तिबीच कम्तीमा दुई मिटर दूरी कायम गर्ने, घरबाट बाहिर निस्किँदा अनिवार्य मास्क प्रयोग गर्ने र बेलाबेलामा साबुनपानीले मिचिमिची कम्तीमा २० सेकेण्डसम्म हात धुने सन्देशलाई व्यापकरुपमा फैलाइने जनाइएको छ ।
यस अभियानअन्तर्गत एनसेलले मास्कको सही प्रयोग, मास्क कसरी लगाउने, कस्तो किसिमको मास्क प्रयोग गर्ने भन्ने लगायतका विभिन्न जान्नै पर्ने जानकारीहरु समावेश गरी कोरोनाभाइरसको संक्रमणबाट बच्न र बचाउन पनि जनचेतना जगाउने कार्य गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।
।
सहकार्यबारे धारणा राख्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले भने, ‘यस विषम परिस्थितिमा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र यूनीसेफसँग सहकार्य गर्दै हाल तीव्रगतिमा फैलिरहेको कोरोना संक्रमण रोक्न, पत्ता लगाउन र यसको प्रतिकार्यमा लाग्नका लागि जनचेतना फैलाउन हामी प्रतिबद्ध छौं । निजी क्षेत्रको एक जिम्मेवार व्यवसायिक नागरिकका रुपमा एनसेलले जनमानस माझ कोरोनाका बारेमा जनचेतना जगाउन र यस महामारी र यसको प्रतिकार्य तयारीका निमित्त सचेत गराउँदै आफ्नो तर्फबाट अभिन्न भूमिका निर्वाह गर्दै आएको छ ।
कोरोना जस्तो संकटको सामना गर्नको लागि विभिन्न सरोकारवालासँगको सहकार्य आवश्यक पर्छ जसले गर्दा सबै एकजुट भएर गरेको सहयोगले सरकारको कोरोना विरुद्घको अभियानमा ठूलो सहयोग पुग्छ । कोरोना विरुद्घ एनसेलले गरेको योगदान निजी क्षेत्रले आफ्नो विषेशज्ञता, अनुभव, क्षमता तथा दक्षताका आधारमा कसरी सहयोग गर्न सक्छ भन्ने मात्र एउटा उदाहरण हो । नेपाली जनताको सेवा गर्ने हाम्रो प्रतिबद्धतामा कुनै सम्झौता हुँदैन ।’























