५५ जिल्लामा एकीकृत समाजवादीको कार्यसमिति गठन


काठमाडौ । नेकपा (एकीकृत समाजवादी)ले देशका ५५ जिल्लामा कार्यसमिति गठन गरेको छ ।
करिब एक महिनाअगाडि नेकपा (एमाले)बाट विभाजित भई माधवकुमार नेपालकाे नेतृत्वमा स्थापना गरेको उक्त पार्टीले देशभर संगठन विस्तारका लागि भेला, बैठकलगायत विभिन्न राजनीतिक कार्यक्रम सञ्चालन गरेको छ । बाँकी २२ जिल्लामा पनि चाँडै नै समिति गठन गर्ने कार्यक्रम रहेको पार्टीले जनाइएको छ ।
पार्टीका विभिन्न विभाग, जनवर्गीय संगठन, सम्बन्धित आयोगको गठन, पुनर्गठन, विस्तार तथा सुदृढीकरणका लागि आवश्यक राजनीतिक गतिविधि सञ्चालन गर्न पार्टीले राष्ट्रियस्तरमा अभियान संचालन गर्ने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
पार्टीको संगठन विस्तारका लागि वितरण गरिने सदस्यताको फाराम अनलाइनबाट उपलब्ध गराइएको छ । पार्टीको सदस्यता लिन चाहने नेतालाई पुरानै सदस्यता कायम गरिनेछ । केन्द्रीय कमिटीको बैठकपछि पार्टीले केही नेताको विभाग हेरफेर गरेर नयाँ जिम्मेवारी तोक्ने जनाइएको छ।






















