प्रतिपक्षीका षड्यन्त्रहरु परास्त गर्न माओवादी शक्तिहरू एक हुनुपर्ने वेला आएको छ : प्रचण्ड


काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्र, गणतन्त्र र संविधान विरोधीहरूको षडयन्त्रलाई परास्त गर्नका लागि पनि माओवादी शक्तिहरू अब एक हुनुपर्ने बताएका छन् ।
खुमलटारमा आयोजित जसपा र नेकपा एमालेबाट माओवादी केन्द्रमा प्रवेश गरेका नेता तथा कार्यकर्ताको पार्टी प्रवेश कार्यक्रममा उनले यस्तो बताएका हुन् । सबै विगतका माओवादी आन्दोलनमा रहेका साथीहरू एउटै केन्द्रमा आउने वातावरण बन्दै गएको छ´ उनले भने अहिले नआउने पनि अलिपछि आउनुहुन्छ´।
प्रचण्डले माओवादी आन्दोलन र यसले उठाएका एजेन्डाहरूलाई राष्ट्रिय रूपमा फेरि नयाँ उचाइबाट स्थापित गर्ने र यो आन्दोलन र पार्टीलाई फेरि राष्ट्रको नेतृत्व गर्ने रूपमा विकास गर्ने अवसर आफूहरूमा रहेको बताए ।
‘समाजवादी क्रान्तिलाई मार्क्सवादी तरिकाले अगाडि बढाउने पार्टीको रूपमा यो पार्टी र नेतृत्वका लागि अन्तिम अवसर पनि हुन सक्छ । एकचोटी राष्ट्रलाई झक्झक्याएर अगाडि लैजाने अवसर पनि हुन सक्छ । सकिएन भने नराम्रो स्थितिमा आन्दोलन जाने खतरा पनि छ । त्यसकारण सबै क्रान्तिकारीहरूले अब ढिलो नगरी एकताबद्ध हुने, केन्द्रित हुने र आत्मसमीक्षासहित जनताको घरघरमा पुग्नुपर्ने भएको छ,’ उनले भने ।
प्रचण्डले जनतामा संविधानको रक्षा गर्ने, राष्ट्रको रक्षा गर्ने र विदेशीसँग नझुकीकन अगाडि बढ्ने पार्टी माओवादी नै रहेको भन्ने अनुभूति भएको उल्लेख गर्दै राष्ट्रको रक्षाको लागि संविधानको रक्षाको लागि संविधान संशोधन गरी परिमार्जन गर्नका लागि पनि संविधान विरोधीहरूको षडयन्त्रलाई परास्त गर्नका लागि पनि माओवादी एक हुनुपर्नेमा जोड दिए ।
‘हिजो संसद् विघटन गरेर केपी ओलीलाई मद्दत गर्नेहरू एमसिसीमार्फत गठबन्धनलाई टुटाएर फेरि प्रतिगमनमा लैजान सकिन्छ कि भनेर कसरत गरिरहेका छन्,’ उनले भने, ‘हामीले गठबन्धनमा एमसिसी र गठबन्धनमा कुन मुख्य हो भनेर छलफल पनि गरेका छौँ । गठबन्धन रक्षा नै राष्ट्र, संविधान र गणतन्त्रको हितका लागि मुख्य हो । एमसिसी परिमार्जन र संशोधनविना पास गर्न सकिन्न र राष्ट्रिय सहमति नबनाई यस्तो डरलाग्दो कुरामा हात हाल्न पनि हुन्न ।’
माओवादीमा कोको प्रवेश गरे ?
माओवादीमा प्रवेश गर्नेहरूमा जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् सदस्य रमेश रेग्मी (चितवन), नेकपा एमाले केन्द्रीय परिषद् सदस्य प्रल्हाद लामिछाने (मकवानपुर), जसपा प्रदेश समिति सदस्य प्रह्लाद पोखरेल (चितवन), जसपा जिल्ला सचिवालय सदस्य रामपुकार पाठक (चितवन), प्रेम शर्मा (सिन्धुपाल्चोक), कृष्ण कार्की (मकवानपुर) सुजनकुमार थापा (मकवानपुर), रवीन्द्र मोक्तान (मकवानपुर), प्रेम वाइबा (मकवानपुर) सुशील ओली (दैलेख) रहेका छन् ।
उक्त कार्यक्रममा पार्टीका स्थायी समिति सदस्य देवेन्द्र पौडेल, केन्द्रीय सदस्य तथा बागमती प्रदेश इन्चार्ज हितमान शाक्य, बागमती प्रदेश अध्यक्ष तथा केन्द्रीय सदस्य नारायण दाहाल, केन्द्रीय सदस्य जोखबहादुर महरा, केन्द्रीय सदस्य सन्तु दराई, केन्द्रीय सदस्य तथा भरतपुर महानगरपालिकाका मेयर रेणु दाहाल लगायतको उपस्थिति रहेको थियो ।






















