देश

संविधान पुनर्लेखनको माग गर्दै बुटवलमा जनमुक्ति पार्टीको प्रदर्शनसहित खबरदारी सभा

जगत ठाडा मगर
२०७८ अशोज ३ | मध्यान्ह ०७:०६ बजे

बुटवल । संविधानको पुनर्लेखनको माग राख्दै राष्ट्रिय जनमुक्ति पार्टीले बुटवलमा प्रदर्शनसहित खबरदारी सभा गरेको छ ।

संविधानले आदिवासी जनजाति, महिला, मधेशी, दलितलाई विभेद गरेको भन्दै जनमुक्ति पार्टीले संविधानलाई सर्वस्वीकार्य बनाउन पुनर्लेखन गर्नुपर्ने माग गरेको हो । सभालाई सम्बोधन गर्दै पार्टीका कार्यकारी अध्यक्ष केशव सुर्यवंशीले संविधानको खारेजीको लागि नभएर सबै वर्ग, समुदायलाई सर्वस्वीकार्य बनाउन पुनर्लेखन गर्नुपर्ने बताए ।

संविधानमा भएका कमिकमजोरी सच्याएर छुटेका बिषय समावेश गर्न पुनर्लेखनको आवश्यक रहेको उनको भनाई छ । राज्य पुनःसंचरना सम्बन्धी व्यवस्था पुनर्लेखनको आवश्यकता रहेको जनमुक्ति पार्टीको माग छ ।

खबरदारी सभामा पार्टीका संघीय परिषद उपाध्यक्ष मनिराम चौलागाई, संघीय परिषद सचिब मोजिब अली, संघीय परिषद सदस्य मधु राना, जनमुक्ति युवा महासंघका केन्द्रीय अध्यक्ष शंकर गाहा लगायतले बोल्दै संविधानलाई सबै नेपालीले अपनत्व लिनसक्ने बनाउन पुनर्लेखनको विकल्प नभएको बताए ।

बुटवलको राजमार्ग चौराहस्थित लखन चोकबाट सुरु भएको प्रदर्शन मिलनचोक, हस्पिटल लाइन हुँदै ट्राफिक चोकमा पुगेर सभामा परिणत भएको थियो ।

कमेन्टहरु