देश

अरुले खुट्टा कमाएको बेला एमालेको दृढ अडानले नयाँ संविधान जारी भयो : केपी ओली

जगत ठाडा मगर
२०७८ अशोज ३ | मध्यान्ह ०२:०६ बजे

धनगढी । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश र जनताका लागि गरेको बलिदानलाई कहिल्यै गलत ठहर्‍याउन नसकिने बताएका छन् ।

संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले जनताको बलिदानको सधैँ कदर गर्नुपर्नेमा जोड दिएका छन । ओलीले अबका दिनमा राजनीतिक परिवर्तन र अधिकारकै लागि लागि आन्दोलन गर्नुपर्ने अवस्था नआउने पनि विश्वास दिलाए । संविधान जारी भएपछि राजनीतिक र सामाजिक परिवर्तनका लागि हिंसाको बाटो आवश्यक नरहेको प्रमाणित भइसकेको पनि उनले उल्लेख गरेका छन् ।

शान्तिपूर्ण आन्दोलनबाटै देशमा ठूलो परिवर्तन ल्याउन सकिने नजिर नेपालले स्थापित गरेको पनि ओलीले बताएका छन । ‘संविधान जारी भइसकेपछि अब देशमा हिंसा आवश्यक छैनु, उनले भने, ‘अब कुनै किसिमको तनाव र हिंसा स्वीकार्न नसकिने कुरा संविधानले स्थापित गरिसकेको छ ।’ नेपालको संविधानलाई प्रगतिशील भन्दै ओलीले गरिबी हटाउन र पिछडिएका सीमान्तकृत वर्गलाई राज्यको मूलधारमा ल्याउन काम गरेको बताए ।

अब यी कुराका लागि राजनीतिक प्रणाली सही बाटोमा अघि बढ्नुपर्ने पनि ओलीले जोड दिएका छन् । संविधान जारी भएदेखि अहिलेसम्मका उपलब्धीको रक्षाका लागि एमालेले नेतृत्व गरेको पनि उनले बताए । ओलीले स्वाभिमानपूर्वक नेकपा एमाले संविधान जारी गर्न र कार्यान्वयनमा अघि बढेको पनि बताए ।

‘संविधान जारी गर्ने क्रममा अरुले खुट्टा कमाएको बेला, अरु लक्पकाएको बेला नेकपा एमाले अत्यन्त दृढताका उभिएको थियो,’ उनले भने, ‘एमालेको दृढ अडानकै कारण नेपालमा नयाँ संविधान जारी हुन सफल भयो ।’

कमेन्टहरु