संविधान कार्यान्वयनमा भएका पहलको समीक्षा गरौँ : सभामुख सापकोटा


काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संविधानमा व्यवस्था गरिएको शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलनको सिद्धान्त अनुरुप अघि बढ्दा मात्रै यसको कार्यान्वयनमा सहजता आउने बताएका छन् ।
संविधान दिवसको अवसरमा शुभकामना सन्देश दिँदै सापकोटाले नागरिकले संविधानअनुसार परिवर्तित व्यवस्थाको प्रतिफल प्राप्त गर्न सक्ने गरी संविधान कार्यान्वयन गर्न भएका पहलको गम्भीर समीक्षा गर्दै अगाडि बढ्न सबैलाई आग्रह गरेका हुन् । जनताका प्रतिनिधिले संविधानसभामार्फत संविधान निर्माण गरी जारी भएको ६ वर्ष पूरा भइ ७ वर्षमा लागिएको छ ।
नेपाली जनताको कठिन सङ्घर्षको परिणामका स्वरुपमा २०७२ असोज ३ गतेका दिन नेपालको संविधान जारी गरिएको थियो । उनले सन्देशमा भने, “यस विशेष दिनमा जनयुद्ध, १९ दिने जनआन्दोलन एवम् विभिन्न कालखण्डमा भएका सङ्घर्षका क्रममा जीवन आहुति दिनुभएका सम्पूर्ण महान् शहिदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।”
सभामुख सापकोटाले घाइते, अपाङ्ग एवं बेपत्ता पारिनुभएका योद्धाको बलिदानी भावको स्मरण गर्दै उच्च सम्मान व्यक्त गरे । संविधान नेपाल आमाका महान् छोराछोरीको अदम्य साहस र बलिदानको प्रतिफल भएको उल्लेख गर्दै सभामुखले यस महत्वपूर्ण दिनमा संविधान निर्माण प्रक्रियामा सामेल भएका सबैको स्मरण गर्दै सम्मान व्यक्त गरे ।
वर्तमान संविधानमा परम्परागत अभ्यासभन्दा केही विशिष्ट र मौलिक विशेषता समावेश गरिएका छन् । संविधानमा अन्तर्निहित लोकतान्त्रिक मूल्य, मान्यता, आदर्श र प्रतिबद्धतालाई व्यवहारमा रुपान्तरण गर्नु आजको मुख्य कार्यभार भएको सभामुखको भनाइ छ । संविधानवाद्, संवैधानिक नैतिकता तथा लोकतन्त्र गतिशील अवधारणा हुन् ।
अन्त्यमा, लोकतान्त्रिक संस्थालाई क्रियाशील हुने वातावरण निर्माण गरी लोकतान्त्रिक मूल्य मान्यताको संरक्षण र प्रवद्र्धन गर्न प्रतिबद्ध बन्न सभामुखले आग्रह गरे । सभामुखले संविधानलाई इमान र निष्ठापूर्वक पालना गर्दै कार्यान्वयन गर्न हामी सबैलाई प्रेरणा मिल्नेछ भन्ने विश्वास लिएका छन् ।






















