देश

संविधान दिवसमा ९ सय ३ जनालाई मानपदवी र विभूषण प्रदान गरिँदै (शुचीसहित)

जगत ठाडा मगर
२०७८ अशोज ३ | बिहान ०८:०६ बजे

काठमाडौं । सरकारले संविधान दिवसको अवसर पारेर प्रदान गर्ने विभिन्न मानपदवी र विभूषण ९ सय ३ जनालाई प्रदान गर्ने भएको छ । राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका उनीहरुलाई विभिन्न मानपदवीद्वारा विभूषित गरिएको हो ।

२९ भदौको मन्त्रिपरिषद बैठकको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले ९ सय ३ जनालाई मानपदवी, अलंकार र विभूषणबाट सम्मान गरेकी हुन् । जसमा सबैभन्दा ठूलो विभूषण नेपालरत्न पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टरार्ईलाई प्रदान गर्ने सरकारले निर्णय गरेको छ ।

यसैगरी, दोश्रो ठुलो राष्ट्रगौरव विभूषण यसपटक स्वर्गी सुवर्ण शमशेर जबरा र पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई प्रदान गरिने भएको छ । यस्तै, अन्य ठूला पदक पाउनेमा स्व. मंगलादेवी सिह, मोहनचन्द्र अधिकारी र पोष्टबहादुर बोगटी रहेका छन् । यसैगरी, राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान पुर्याएबापत द्वारिकादेवी ठकुरानी, भीमदत्त पन्त, भूविक्रम नेम्वाङ, रानुदेवी अधिकारी, भक्तराज आचार्य, सन्तोष शाहलाई उपल्लो स्तरको पदक प्रदान गर्ने सरकारले निर्णय गरेको छ ।

यसैगरी बाग्मती सफाइ अभियन्ता माला खरेल, वरिष्ट कार्टुनिस्ट रविन सायमी, खेलाडीहरू ज्ञानेन्द्र मल्ल र किरण चेम्जोङ, गायिकाहरू देविका प्रधान र विष्णु माझी, अक्सिजन सप्लाइकर्ता शंकरलाल अग्रवाल, कोभिडविरुद्ध जनचेतना फैलाउन उल्लेख्य भूमिका खेलेका स्वास्थ्य विशेषज्ञ डा. शेरबहादुर पुन र डा. रविन खड्कालाई पनि विभिन्न पदकद्वारा विभूषित गरिने भएको छ ।

गायकहरू हेमन्त शर्मा, प्रकाश सपुत, नायिका केकी अधिकारी, नायक अनमोल केसीलाई पनि विभूषित गरिने भएको छ । यसैगरी, पशुपतिमा लास जलाएर उल्लेख्य भूमिका निर्वाह गर्दै आइरहेकी सपना रोका मगर, एसिड पीडित मुस्कान खातुन, तेजिया फौजा मगर, यौनिक अल्पसंख्यक अभियान्ता भूमिका श्रेष्ठ, पर्वतारोही कल्पना महर्जनलगायतलाई पनि महत्वपुर्ण विभूषण प्रदान गर्ने निर्णय गरिएको छ ।

निजामती, जंगी, प्रहरी र सशस्त्र प्रहरी क्षेत्रमा उल्लेख्य भूमिका निर्वाह गरिरहेका कर्मचारी, प्रहरी र सेनाका उच्च पदस्थहरूलाई पनि विभिन्न पदवीले विभूषित गरिने भएको छ । यसैगरी, विभिन्न सामाजिक संघसंस्थामा रहेकालाई पनि विभूषित गरिन लागिएको छ । हरेक वर्ष संविधान दिवसका दिन ३ असोजमा विभूषण पाउनेहरूको नाम सार्वजनिक गरिँदै आएको छ ।

photo 2021 09 19 08 06 26

photo 2021 09 19 08 06 27

कमेन्टहरु