देश

दोलखामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

जगत ठाडा मगर
२०७८ अशोज २ | मध्यान्ह ०७:०६ बजे

दोलखा । दोलखाको भीमेश्वर नगरापालिका–७ मकैबारीमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । दुर्घटनामा परी ज्यान जानेमा मोटरसाइकलमा सवार दोलखा कालिञ्चोक गाउँपालिका–९ का २४ वर्षीय सन्तोष थामी रहेको छ ।

दुर्घटनामा परी भीमेश्वर नगरपालिका–१ सुस्पाक्षमावतीका ५० वर्षीया शारदा थामी र सोही स्थानका १९ वर्षीया सुजीता थामी घाइते भएका छन्। मोटरसाइकलमा तीन जना सवार रहेको र चालक थामीको मृत्यु भएको छ । घाइते दुई जनालाई थप उपचारका लागि काठमाडौँ लगिएको प्रहरी निरीक्षक अन्जन कोइरालाले बताए ।

दोलखाको भिमेश्वर मन्दिर दर्शन गरी काठमाडौँ फर्कन लागेको बा ३ ख ४७३३ नम्बरको बस र मकैबारीबाट आउँदै गरेको बा ९७ प ७९३१ नम्बरको मोटरसाइकल भीमेश्वर नगरपालिका–७ मकैबारीमा एकापसमा ठोक्किएर दुर्घटना भएको थियो। दुर्घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्टहरु