देश

वर्तमान सरकार फ्रिजमा जमेको आइस हो, चुनावपछि बिलाएर जान्छन् : ओली

जगत ठाडा मगर
२०७८ अशोज २ | मध्यान्ह ०४:०६ बजे

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १४ महिनापछि हुने आम चुनावपछि वर्तमान गठबन्धन सरकार फ्रिजमा जमेको आइसका डल्ला जसरी बिलाउने बताएका छन् ।

शनिबार काठमाडौमा नेपाल निजामती कर्मचारी संगठनको आठौँ केन्द्रीय बैठक र राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले वर्तमान गठबन्धन सरकार र पार्टीहरु प्राकृतिक रुपमा जमेको आइस नभएर फ्रिजमा जमेको आइस भएको र बाहिर आउनासाथ अर्थात् चुनाव हुनासाथ बिलाएर जाने बताएका छन् ।

सो क्रममा उनले पुनः यो सरकार जनादेशबाट नभएर सर्वोच्चको परमादेशबाट बनेको सरकार भएको पनि उल्लेख गरे । ओलीले भनेका छन्,‘अस्वभाविक उद्देश्यका साथ सरकार बन्यो । यो जनादेशबाट बनेको सरकार होइन परमादेशबाट बनेको सरकार हो ।‘ उनले वर्तमान सरकार जनताप्रति उत्तरदायी नभएको र गैरजिम्मेवार रहेको पनि आरोप लगाए।

ओलीले आफूले चुनाव गरौं भन्दा आफूलाई प्रतिगमन भन्दै विरोध गरेको उल्लेख गरे । १४ महिनापछि यो सरकारलाई चुनाव गराउनै पर्ने बाध्यता भएको र चुनावपछि यो सरकार र गठबन्धनमा रहेका पार्टी हराउने उनको भनाइ छ । उनी भन्छन्,‘यो तानाशाही सरकार र गठबन्धन फ्रिजबाट बनेका आइसका डल्ला हुन्, आफैं जमेको आइस होइनन् । यी डल्ला बाहिर निकालेपछि पग्लिहाल्छन् ।’

सो क्रममा उनले कर्मचारीतन्त्र स्वस्थ र सक्रिय भएमात्र देश विकास हुने पनि बताएका छन् ।

कमेन्टहरु