पार्टीबाट चोइटिएर गएकाहरूको राजनीतिक भविष्य छैन, तिनीहरु मासिन्छन् : ईश्वर पोखरेल

जगत ठाडा मगर
२०७८ अशोज २ | मध्यान्ह ०४:०६ बजे

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले नेकपा एमालेबाट चोइटिएर जानेहरूको कुनै राजनीतिक भविष्य नरहेको बताएका छन्।
शनिबार बानेश्वरमा आयोजित नेपाल निजामती कर्मचारी संगठनको आठौं केन्द्रीय बैठक र राष्ट्रिय भेलामा बोल्दै पोखरेलले पार्टीबाट छुटेकाहरूको कुनै राजनीतिक भविष्य नरहेको बताएका हुन् । पार्टीबाट छुटेकाहरू मासिएर जाने उनले बताए।
पार्टीबाट विभाजन रोजेकाहरू समाप्त हुने गरेको इतिहास रहेको भन्दै उनले सो कुरा स्मरण गराएका थिए । ‘एमालेबाट चोइटिएर जानेहरू सकिन्छन् । मासिएर जान्छन्,’ उनले भने, ‘विभाजनमा जानेहरूको भविष्य अन्धकारमा जान्छ । उनीहरूको भविष्य अँध्यारो सुरूङभित्र पसिसकेको छ।’
भेलामा पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, स्थायी सदस्य तथा बागमतीका इन्चार्ज रामबहादुर थापा बादलको सहभागीता रहेको थियो ।






















