देश

गरगहना लुट्न नातिले गरे आफ्नै हजुरआमाको हत्या

जगत ठाडा मगर
२०७८ अशोज २ | मध्यान्ह ०४:०६ बजे

बझाङ । बझाङको दुर्गाथली गाउँपालिका–५ मा गरगहना लुट्न एक युवकले आफ्नै हजुरआमाको हत्या गरेका छन् । ८५ वर्षीया रिखीदेवी जप्रेलको हत्या गरेको आरोपमा उनकै नाति २३ वर्षीय सुवास जप्रेल पक्राउ परेका हुन् ।

गत भदौ २७ गते बिहान ९ बजेतिर रिखीदेवीको हँसिया प्रहार गरी हत्या भएको थियो । प्रहरीका अनुसार शव फेला परेको घर नजिकै रहेको शौचालयमा पुरुषले लगाउने कपडा रगतले लतपतिएको अवस्थामा भेटिएको थियो । त्यसबारे सोधपुछ गर्दा सो कपडा मृतककै नाति सुवासको भन्ने खुलेको थियो ।

उनलाई दुर्गाथली गा.पा. वडा नं. ७ अन्तर्गत पर्ने लौवादेव डाँडामा भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । सुवासले प्रहरीसमक्ष हजुरआमाको हत्या गरेको स्वीकार गर्नुका साथै कानमा रहेको सुनको २ वटा मुन्द्रा र नाकमा रहेको सुनकै फुली लुटेर सोही दिन बिक्री गरेको भनी कबुल गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रूपक खड्काले बताए ।

उनले त्यहीँ दिन साँझ ७ बजेको समयमा पुनः घटनास्थलमा गई लासलाई घरभित्रबाट ल्याएर खाडलमा पुरेको पनि बयान दिएको खड्काको भनाइ छ । सुवासविरुद्ध कर्तव्य ज्यानको मुद्दा दर्ता गरी भदौ ३१ गतेदेखि लागु हुने गरी अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु