रौतहटको देवाही गोनाहीमा पोखरीमा डुबेर मृत्यु

जगत ठाडा मगर
२०७८ अशोज २ | बिहान ०९:०६ बजे

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकामा फेरि एक बालिकाको डुबेर मृत्यु भएको छ । रौतहटमा पछिल्लो ३ दिनभित्र ३ बालिकाको डुबेर ज्यान गएको हो । पोखरीमा डुबेर २ बालिकाको ज्यान गएको २४ घन्टा नबित्दै फेरि अर्की बालिकाको डुबेर मृत्यु भएको हो ।
देवाही गोनाही नगरपालिका वडा नं.६ कर्कच करमहियाका स्थानीय मोहन साहको छोरी साढे दुई बर्षकी ज्योति कुमारी साहको शुक्रबार साँझ डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । गाउँ नजिकै रहेको नहरमा जमिएको पानीमा डुबेर बालिका साहको मृत्यु भएको हो ।
ईलाका प्रहरी कार्यलय देवाही गोनाहीका प्रमुख इन्स्पेक्टर राजन लम्सालले शवलाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल गौरमा पठाईएको बताए । यसअघि देवाही गोनाही ७ का वडा अध्यक्ष जगरनाथ यादवको निर्माणधिन पोखरीमा घोँगी तिप्न जानेक्रममा डुबेर २ बालिकाको मृत्यु भएको थियो।






















