आँखै अगाडि कैलाश पर्वत


काठमाडौं । भौतिक विकास र सुखले नछोएको जिल्ला हो, हुम्ला । जबकी यो आफैंमा प्राकृतिक स्रोत र सौन्दर्यले सुशोभित पनि छ ।
जस्तो कि, लिमी उपत्यका । तिब्बतियन संस्कृतिलाई आफूमा समेटेर थपक्क बसेको यो उपत्यकामा पुगेपछि अन्यत्र ध्यान मोडिदैन । अनुपम प्राकृतिक सौन्दर्यले जो–कोहीलाई मोहनी लगाउँछ ।
रैथाने जनजीवनले पनि आगन्तुकलाई बेग्लै अनुभूति गराउँछ । यहाँको दर्शनीय स्थल भनेका प्रचिन गुम्बाहरु हुन् । यी गुम्बाहरु एक हजार वर्षभन्दा पुरानो रहेको बताइन्छ ।

लिमी भ्याली पुग्नका लागि हुम्लाको सदारमुकाम सिमकोटबाट पाँच दिन हिँड्नुपर्छ । तीन वटा गाउँ तिल, हल्जी र जाँग मिलेर बनेको छ यो उपत्यका । सिमकोटदेखि लिमीसम्म पुग्ने सडक निर्माण भइरहेको छ । लगभग यी दुई ठाउँलाई सडकले आपसमा जोडिसकेको छ । च्यासरा भीरमा केही स्थानमा भने निर्माणको काम बाँकी छ ।
हुम्लाको सिमकोटलाई कैलाश पर्वतको प्रवेशद्वार मानिन्छ । यद्यपि त्यहाँसम्म पुग्नका लागि भिसाको व्यवस्था गर्नुपर्छ, जुन अलि झन्झटिलो छ । यदि यो झन्झट नउठाउने हो भने ल्याक्पा स्यार नै उपयुक्त गन्तव्य हुनसक्छ ।
ल्याक्पा स्यारसम्म पुग्नलाई दुई वटा बाटा छन् । एक, हिल्सा बाटोबाट लिमी हुँदै ल्याक्पा स्यार जाने र अर्को, न्यालो पास ४९५० मिटरको पास भएर लिमी हुँदै ल्याक्पा स्यार जाने । त्यहाँसम्म पुग्न सिमकोटदेखि तीन हप्ता लाग्नसक्छ ।























