कांग्रेसले खटाए सात जिल्लामा निर्वाचन अधिकृतहरु


काठमाडौं । नेपाली कांग्रेस निर्वाचन समितिले थप सात जिल्लामा निर्वाचन अधिकृतहरु खटाएका छन् । अधिवेशन हुन बाँकी रहेको २० जिल्लामध्ये काठमाडौंसहित मोरङ, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, बाजुरा, कपिलवस्तु र बर्दियामा निर्वाचन अधिकृत तोकिएको छ ।
समितिका सचिव जगन्नाथ श्रेष्ठका अनुसार सम्बन्धित जिल्लाका निर्वाचन अधिकृतहरूले क्रियाशील सदस्यता सूची तथा अधिवेशनका लागि आवश्यक सामग्री बुझिसकेका छन् । “हामीले सात जिल्लाको क्रियाशील पाउनेबित्तिकै जिम्मेवारी तोकेका हौँ,” उनले भने, “अधिकृतज्यूहरूले बिहीबार नै अधिवेशनका लागि अावश्यक सामग्री समितिबाट लिइ सक्नुभएको छ ।”
श्रेष्ठका अनुसार काठमाडौं जिल्लाको अधिवेशन गराउने जिम्मेवारी वरिष्ठ अधिवक्ता नरहरि आचार्यलाई दिइएको छ । यस्तै, मोरङमा केदार कार्की, काभ्रेपलाञ्चोकमा राजेन्द्र लामिछाने, सिन्धुपाल्चोकमा छविरमण निरौला तथा बाजुरामा सन्तोष भण्डारीले निर्वाचन अधिकृतको जिम्मेवारी पाएका छन् । श्रेष्ठका अनुसार बर्दियामा लोकबहादुर शाह र कपिलवस्तुमा घनश्याम पन्त निर्वाचन अधिकृतको रूपमा जिल्ला प्रस्थान गरेका छन् ।
यसअघि, गत भदौ १८ गतेदेखि ५६ जिल्लामा वडा अधिवेशन सम्पन्न भइसकेको छ । २० जिल्लाको क्रियाशील सदस्यतासम्बन्धी विवाद पार्टीले टुंगो लगाउन नसक्दा वडा अधिवेशन सुरु हुन सकेको छैन । क्रियाशील विवाद समाधान कार्यदलले हालसम्म १० जिल्लाको मात्र विवाद टुंगोमा पुर्याउन सफल भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको गृहजिल्लामा भएको वडा अधिवेशन भने विवादित बनेको छ ।
सुरक्षा प्रशासन लगाएर अधिवेशन गरिएको भन्दै इतर समूहले पुनः निर्वाचनको माग गरिरहेका छन् । तर, पुनः अधिवेशन माग गरिरहेको इतर समूहभित्र पनि एकमत छैन । वरिष्ठ नेता रामचन्द्र पौडेलले पुनः अधिवेशन गर्नुपर्ने माग गरेका छन् । सोही समूहका नेता महामन्त्री शशांक कोइराला भने पुनः अधिवेशन सम्भव नभएको टिप्पणी गर्छन् ।
बिहीकार बहुमत पक्षले बहिस्कार गरेको अधिवेशन मान्य नहुने भन्दै निर्वाचन समितिको ध्यानाकर्षण गराउन पुगेका नेता पौडेल र महामन्त्री कोइरालाले फरक–फरक प्रतिक्रिया दिएका हुन् । कार्यतालिका अनुसार वडा अधिवेशन गर्न बाँकी रहेका २० जिल्लाको अधिवेशन असोज ५ मा गर्नुपर्नेछ ।






















